मकैले धानेकाे जीवन : एकातिर घामको ताप, अर्कोतिर आगोको राप !



बागलुङ : एकातिर घामको ताप, अर्कोतिर आगोको राप । छैसठ्ठी वर्षीया जसमती रोकाको शरीर पसिनाले निथ्रुक्क भिजेको छ । हत्केला कलेटी परेका छन् । मुहारमा कोइला र खरानीका दाग देखिन्छन् ।

हिजोआज मध्याह्नपछि रोकाको दैनिकी यसरी नै बित्छ । समीक्षालयचोक छेउमा सानो पाल टाँगेर मकै पोल्नु, बेच्नु रोकाको दैनिकी हो । मकै पोल्नेमा रोका एक्ली भने हुनुहुन्न । एकाउन्न वर्षीया टीकाकुमारी घर्तीको साथ उहाँलाई छ । दुवै जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाबाट १५ वर्षअघि बागलुङ बजार झरेका हुन् । “यसरी मकै पोलेर बेच्न थालेको छ वर्षजति भयो”, घर्तीले भन्नुभयो, “हाम्रो कमाइ, पेशा यही हो ।”

वर्षेनी जेठदेखि साउनसम्म मकैको व्यवसाय चल्छ । बाँकी महीनामा रोकाले सुन्तलालगायत मौसमी फलफूल बेच्नुहुन्छ । घर्तीले भने घरमै झोला, स्वीटरजस्ता हस्तकलाका सामग्री बुनेर बिताउनुहुन्छ । मकै पोलेर बेच्दा ठूलोको प्रतिगोटा रु ३० पर्छ र सानाको रु २५ पर्छ । काँचो बेच्दा भने ठूलोलाई रु २५ र सानोलाई रु २० बेच्ने गरिएको रोकाले बताउनुभयो । “हामीले किनेर ल्याउँदा एउटालाई रु १५/२० सम्म पर्छ”, उहाँले भन्नुभयो, “दाउरा किनेर, पोलेर बेच्दा थोरै फाइदा निक्लन्छ ।”

मकै पोल्नेले फर्निचरबाट प्रतिकिलो रु १५ तिरेर दाउरा किन्ने गरेका छन् । दिनमै १०० भन्दा बढी मकै बिक्री हुने गरेको घर्तीको अनुभव छ । यसरी किनबेच हुँदा दिनमा रु तीन हजारसम्मको कारोबार हुन्छ । मकै पोलेर बचेको पैसाले घर खर्च धानिएको रोका र घर्तीले बताउनुभयो । ठूलो आम्दानी नभए पनि मेहनतअनुसारको फल पाउँदा खुशी लाग्ने गरेको उहाँहरूको भनाइ छ । घर्तीले दुई छोरा र एक छोरीसहितको परिवारलाई पोलनपोषण गर्दै आउनुभएको छ ।

श्रीमान्ले दोस्रो श्रीमती बिहे गरेपछि बालबच्चाको हेरचाह घर्तीले गर्दै आउनुभएको छ । रोकाका पाँच भाइ छोरा भने सबै वैदेशिक रोजगारीमा छन् । उहाँले बजारमा बसेर आफ्नै परिश्रममा जीवन धानिरहनुभएको छ । घर्ती र रोका तत्कालीन द्वन्द्वको अवस्थामा गाउँ बस्न नसक्ने अवस्था भएपछि सदरमुकाम झरेका थिए ।

बागलुङ बजारमा मकै पोलेर जिवीका चलाउने महिला अरु पनि छन् । मुख्य सडक र चोकमा बागलुङ नगरपालिकाले मकै पोल्न नदिएपछि भित्री सडकमा उनीहरूको व्यवसाय सरेको छ । मकै नपाइने याममा भने मौसमी फलफूल, तरकारी, बदाम आदि बचेर महिलाले आयआर्जन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्