ट्रयाक खुलेको एक दशकपछि बेनी–बरङ्जा सडक स्तरोन्नति



म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीबाट हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जा हुँदै अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नति गरिएको छ ।

एक दशकअघि २०६३ सालमा ट्रयाक मात्रै खोलिएको थियाे। सडकलाई भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीले ४८ लाख ५० हजार विनियोजन गरे पनि बजेट अपुग भएकाे थियाे।

यद्यपि स्थानीय जनसहभागिता ४ लाख ९५ हजार गरी कुल ५३ लाखको लागतमा सडक फराकिलो बनाउने, जमिनमा ढलान गर्ने र तीन ठाँमा नयाँ ट्रयाक खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए।

उनका अनुसार सडकखण्डअन्तर्गत नयाँ पुलमा १ सय मिटर, बाहुनडाँडामा ६ सय ५० मिटर र थामडाँडामा १ सय मिटर ट्रयाकसमेत खोलिएको छ। सडक स्तरोन्नतिको स्थलगत अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रवहादुर केसीले सचेत उपभोक्ताको सक्रियतामा कम लागतमा धेरै काम भएको प्रतिक्रिया दिए ।

सडकको मापदण्डअनुसारै निर्माण भएको यस सडक पश्चिम म्याग्दीको विकासका लागि कोसेढुङ्गा सावित हुने स्थानीयले बताएका छन् । बेनी नगरपालिका २ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म जोड्ने सडकको रुपमा समेत यस सडकलाई विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्