पानी नपर्दा बित्थडचिरका खेत बाँझै



बझाङ्ग : जिल्लामा धान रोप्नका लागि पर्याप्त वर्षा नभएपछि किसानहरू मर्कामा परेका छन्। आकाशे पानीको भरमा रोपाई गर्ने बझाङ्गको बित्थडचिर गाउँपालिकाका किसानलाई यो वर्ष पानी नपर्दा धान रोप्न समस्या भएको हो। असार बित्नै लाग्दा समेत राम्रोसँग पानी नपरेपछि खोलाहरू रसाएका छैनन्।

बाह्रैमास पानी लाग्ने कुला र खोलाहरूमा पानीको सतह घट्दै गएपछि किसान झनै चिन्तित बनेका छन्। पानी नपरेपछि किसानहरूले धान रोप्नको लागि राखेको ब्याड समेत सुक्न थालेको छ। आकासे पानीमा निर्भर पर्ने किसानहरूको समस्या त छदै थियो। बाह्रैमास कुलो चल्ने किसानहरूले पनि खेतमा धान रोप्न पाएका छैनन्।

खोलाहरूमा जथाभावी ढुङ्गा, बालुवा उत्खनन् गर्दा खोलामुनी र कुलोमाथि भएपछि किसानलाई खेतसम्म पानी पुर्याउन समस्या भएको छ। खुला मुहान सुक्दै जानु र समयमा वर्षा नभएपछि बित्थडचिरका पुरै खेत बाझै छन्। खेतमा राखेको बीउ पानी नपाएर सुक्न थालेपछि किसान झनै चिन्तित भएका छन्।

‘गएको वर्ष त यो समयमा पूरै खेतमा धान रोपिएको हुन्थ्यो। तर, यो वर्ष असार दोस्रो साता बितिसक्दा पनि खेतमा धान रोप्न सकिएका छैन्’, बित्थडचिर गाउँपालिका ९ का किसान हरिदेव जाशीले भने, ‘खेतमा कुलो लाग्दैन, खोलामा समेत पानी छैन्, आकाशे पानी नपरेपछि खेत बाझै छ।’ 

‘खेतमा धानको बीउ राखेको महिना दिन बढी भइसक्यो, धान रोप्नको लागि पानी छैन’, बित्थडचिर गाउँपालीका–८ धरानका सत्यराज जोशीले भने,‘आकाशे पानीको भरमा रोपाई गथ्र्यौ, यसपाली पानी परेन खेत बाझै छ।’

समुद्री सतहबाट केही उच्च भेगमा रोपाई भएकोले सिंचाईको लागी अन्य कुनै विकल्प नभएको उनले बताए। ‘आकासबाट पनि पानी परेको छैन्, खोलामा पानीको सतह घट्दै गएको छ, कसरी खेतमा धान रोप्ने ?’, स्थानीय पदम भट्टले भने, ‘यो वर्ष त भोकमरी पर्छ कि के हो।’ बित्थडचिरका सुनकुडा, धारी, सुवाकोट, पाडपाखा, ओशैल, नाडा, मड धरान लगाएतका ठाउँमा ठुलो क्षेत्रफलमा रोपाई हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्