बागलुङमा प्रहरी बनेर ठगी गर्ने दुई युवक पक्राउ



म्याग्दी : जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी बनेर ठगी गर्ने दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको ताराखोला गाउँपालिका ३ का २४ वर्षीय अम्मर खत्री र बागलुङ नगरपालिका ३ का २१ वर्षीय रुपेश रुचालले नक्कली प्रहरी बनेर बागलुङ बजार नजिकै गाडी चालकबाट पैसा असुली गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

असार १६ र १७ गते बागलुङ नगरपालिका ६ धारापानी मसरामा यातायातका साधन रोकी चेकजाँच गर्ने र रकम असुल गरेकाले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झपिन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।

खत्री र रुचाललाई सिभिल पोसाकमा बसी गाडी चेकजाँच गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। स्थानीयले दिएको जानकारीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसँग विवाद र हातपात समेत भएको भट्टराईले बताए। खत्री र रुचालविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्