जुवाखालबाट समातिए इटहरीका वडाध्यक्ष



विराटनगर : इटहरी उपमहानगरपालिका १५ का वडाध्यक्ष श्रवणकुमार चौधरी जुवाखालबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार जुवा खेलिरहेका उनीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो। 

डीएसपी फुयाँलले भने, ‘हामीले मंगलबार राति जुवा खेल्दा खेल्दै फेला पारेपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएका हौं।’ उनका अनुसार दुहबी नगरपालिकाको पूर्वी कुसाहाबाट २ लाख ८४ हजार रुपैयाँसहित पाँच जनालाई पक्राउ गरिएको छ।

फुँयालका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष श्रवण चौधरी, मोरङको ग्रामथान गाउँपालिका–६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान– ५ का ४० वर्षीय लालबहादुर चौधरी, गढी गाउँपालिका–३ का ४२ वर्षीय रमेश चौधरी र जोगेन्द्र उराउ पक्राउ परेका हुन् ।

उनीहरुविरुद्ध जुवासम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट सात दिनको अनुमति लिइसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्