प्रेम सम्बन्धका कारण किशोरीको हत्या, ३ जना पक्राउ



बझाङ : कक्षा १२ मा अध्ययनरत किशोरी हत्याको आशंकामा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको बुङ्गल नगरपालिका–२ दहबगरबस्ती घर भएकी २० वर्षीया ललिता धामीको मृत्यु प्रकरणमा प्रहरीले कालंगा हाइड्रो प्रालीमा काम गर्ने ३ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

हाइड्रो प्रालीका जेसीबी चालक माधव बोहरा र सहचालक गोपाल बोहरासहित खडक विष्टलाई घटनामा संलग्न भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो। तीनै जनालाई जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरी नायब उपरीक्षक सर्यबहादुर केसीले जानकारी दिए।

स्थानीय महेन्द्र उमावि गिरौमा कक्षा १२ मा पढ्ने ललिता धामी मंगलबार दहबगरको खोचेगडा भन्ने स्थानमा मृतक भेटिएपछि यो घटना रहस्यमय भएको भन्दै प्रहरीले शंकास्पद व्यक्तिको खोजी गरेको थियो। प्रहरीका अनुसार जेसीबी चालकसँग मृतक ललिताको प्रेम सम्बन्ध रहेको बुझिएको छ।

मृतक ललिताको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको र घटनाको सत्यतथ्य छानबिनका लागि स्थानीयले प्रहरी प्रशासनलाई दबाब दिएका छन्। मृतकको अनुहार, टाउको र छातीमा चोट छ। आक्रोशित मृतकका आफन्तले मंगलबार हाइड्रो प्रालीका तीनवटा ट्रिपरमा ढुंगा मुढा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्