
काठमाडौं । गत ६ चैतमा मोरङको लेटाङमा सर्वसाधारणले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो। १ साउन २०७६ देखि प्रहरी सेवामा प्रवेश गरेकी श्रेष्ठ जसको सुरक्षाका लागि फिल्डमा खटिइन्, तिनै व्यक्तिको निशानामा परिन्। लेटाङ घटनाको १७ महिनाअघि पनि स्थानीयको आक्रमणबाट कैलालीको बिसुगार्ड गेटामा १ जना प्रहरीको मृत्यु भयो।
२०७७ कात्तिकमा कैलालीको जुगडामा स्थानीयले धारिलो हतियार प्रयोग गरी प्रहरी जवान रामबहादुर साउदको हत्या गरे । श्रेष्ठ र साउद मात्र होइन, जनताको शान्ति सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी जनताबाटै असुरक्षित हुने क्रम बढ्दै गएको छ। प्रहरीको तथ्याङ्कअनुसार बितेका ६ वर्षमा मात्र ११ जना सुरक्षाकर्मीले सर्वसाधारणको आक्रमणबाट ज्यान गुमाए । २०७२ सालदेखि २०७८ चैत पहिलो सातासम्ममा ११ जना प्रहरीको हत्या भएको प्रहरी मुख्यालयको रेकर्डमा उल्लेख छ । सेवा दिने क्रममा विभिन्न आन्दोलनमा जनताबाटै भएको आक्रमणमा परी प्रहरीले ज्यान गुमाइरहनुपरेको प्रहरी मुख्यालयको भनाइ छ ।
पछिल्ला ६ वर्षको मात्र तथ्याङ्क हेर्ने हो भने हरेक वर्ष औसतमा २ जना प्रहरी जनताबाटै मारिएका छन्। यस अवधिमा कैलालीका जनताबाट सबैभन्दा बढी अर्थात् ८ जना प्रहरी मारिएको प्रहरी प्रधानकार्यालयको तथ्याङ्क छ। २०७२ सालमा भएको थरूहट आन्दोलनमा स्थानीयको आक्रमणबाट ६ जना प्रहरी मारिएको रेकर्ड छ भने २ जना कैलालीको सिमानामा मारिएका छन्। त्यसपछि दोस्रो नम्बरमा मोरङ जिल्ला परेको छ । जनताको आक्रमणबाट प्रहरी जवानदेखि एसएसपीसम्म मारिएको प्रहरी रेकर्ड छ । कैलालीमा २०७२ सालमा भएको झडपमा १ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपाने मारिएको प्रहरी रेकर्ड छ।
स्थानीयको आक्रमण निशानामा सबैभन्दा बढी प्रहरी हवल्दार र जवान पर्ने गरेका प्रहरी तथ्याङ्कले देखाउँछ। पछिल्लो ६ वर्षको अवधिमा ३ जना प्रहरी हवल्दार र ४ जना प्रहरी जवान सर्वसाधारणबाट मारिएका प्रहरी अभिलेख छ। यसैगरी २ जना प्रहरी निरीक्षक र १ जना प्रहरी सहायक निरीक्षक पनि स्थानीय जनताको आक्रमणको शिकार बनेका प्रहरी तथ्याङ्कमा छ। ६ वर्षको अवधिमा १ हजार ४१० जना प्रहरी सर्वसाधारणको आक्रमणमा परेर घाइते भएका छन्।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ४९० जना, २०७३/०७४ मा ५४ जना, २०७४/०७५ मा ८३ जना, २०७५/०७६ मा १२८ जना, २०७६/०७७ मा ६१ जना, २०७७/०७८ मा २८० जना र चालू आर्थिक वर्षको चैतको पहिलो सातासम्ममा ३१४ जना प्रहरी स्थानीयको आक्रमणमा परी घाइते भएको प्रहरी मुख्यालयको अभिलेख छ ।
किन आक्रमणमा पर्छन् प्रहरी ?
प्रहरी अधिकारी तथा प्रहरी र नागरिक सम्बन्धलाई नजिकबाट नियाल्नेहरूका अनुसार सर्वसाधारण जनताको तारोमा सुरक्षाकर्मी पर्नुका पछि ३ वटा कारण मुख्य छन् । पहिलो कारण, प्रहरीप्रति जनताको भरोसा टुट्नु हो ।
कुनै कालखण्डमा एउटा प्रहरीले स्थानीयस्तरमा विगतमा गरेको ज्यादतीका कारण रिसाएर बसेका जनता मौका पाउनेबित्तिकै प्रहरीमाथि हत्या गर्नेसम्मको नियतले आक्रमणमा उत्रने गरेका उनीहरू बताउँछन् । दोस्रो, नागरिक र प्रहरीबीच कतिपय स्थानमा हुने गरेका खानपान, लेनदेनदेखि चिसिँदो सम्बन्धका कारण पनि प्रहरीमाथि हत्या गर्नेसम्मको योजनाका साथ जनता आक्रमणमा उत्रने गरेका छन् । तेस्रो कारण भने, सुरक्षाका लागि खटाइएका प्रहरीलाई जोखिम मूल्याङ्कन र पूर्वतयारीबारे पर्याप्त तालिम र ज्ञान नदिँदा पनि प्रहरी सर्वसाधारणको आक्रमणको निशानामा पर्ने गरेका छन् । प्रहरीका पूर्वअधिकारीहरू भने घटना नियन्त्रणबाहिर जाँदासमेत आवश्यक ‘एक्सन’ लिन अनुमति नपाउँदा सर्वसाधारणको आक्रमणमा परेर प्रहरीको ज्यान जाने गरेको दाबी गर्छन् ।
नेपाल प्रहरीका पूर्वडीआईजी पिताम्बर अधिकारी भन्छन्, ‘कुनै एउटा ठाउँमा घटना घट्छ, त्यो घटना नियन्त्रणमा लिन प्रहरी कमाण्डरसहितको टोली त्यहाँ पुग्छ पनि तर ऊ तनावपूर्ण परिस्थितिलाई नियन्त्रणमा लिनबाट ब्याक हुन्छ किनकि त्यो नियन्त्रणका लागि ऊ ‘एक्सन’मा जानुपर्छ ।’ पूर्वडीआईजी अधिकारीका अनुसार एउटा प्रहरी कमाण्डर एक्सनमा गएपछि घटना नियन्त्रणका लागि गोली नै चलाउनुपर्ने हुन्छ । ‘राज्यले दिएको यो अधिकार पनि हो’, उनले भने। ‘यदि राज्यले दिएको यही अधिकारको प्रयोग गरेर कमाण्डरले चलाएको गोलीबाट मानवीय क्षति भयो भने त्यसपछि अनेकथरिका लफडा सुरु हुन्छन्, छानबिन समिति गठन हुन्छ, मानवअधिकारको उल्लङ्घन भयो भनेर आरोप लाग्न थाल्छ, त्यसैले प्रहरी अधिकारीहरूले आफूले पाएको अधिकारको प्रयोग गर्न नसक्दा सर्वसाधारणको निशानामा परिहाल्छन्।’ उनका अनुसार बिनामतलबको लफडामा परेर कोही पनि तनाव लिन खोज्दैन।
फिल्डमा गएका प्रहरी अधिकारीहरूमा यही मनोवैज्ञानिक असर सबै कमाण्डरमा रहेको हुनाले यस्ता घटनाहरू हुने गरेका पूर्वडीआईजी अधिकारी बताउँछन्।यस्ता घटना रोक्नका लागि उनको सुझाव छ– ठूलो क्षति रोक्नका लागि सही तरिकाले भएको बल प्रयोगमा सरकारले प्रहरीको मनोबल गिराउने काम गर्नुहुँदैन, हतोत्साही बनाउने काम भन्दा पनि उचित मूल्याङ्कन गरेर हौसला बढाउनुपर्छ। सुरक्षा मामिलाका अर्का जानकार नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार भीड विवेकबाट परिचालित नहुने भएकाले प्रहरीले ज्यान गुमाउनेसम्मको अवस्था आउने गरेको छ। उनी भन्छन्, ‘कुनै भीडमा प्रहरी मारिनु भनेको पूरै समाज नै दोषी होइन, त्यो भीडमा हुने स्वार्थसहतिको घुसपैठका कारण प्रहरीको ज्यान जाने गरेको छ ।’
तर, जेसुकै भए पनि राज्यले दिएको अधिकारी प्रहरीले प्रयोग गर्नुपर्ने उनको सुझाव छ। उनका अनुसार प्रहरी कमाण्डरले आफ्नो अधिकारको प्रयोग मात्र गरदिए धेरै प्रहरीको ज्यान जोगिन्छ । स्थानीयबाटै प्रहरी मारिएको विषयलाई भने प्रहरी प्रधानकार्यालय स्वीकार गर्न तयार छैन । प्रहरी मुख्यालयका प्रवक्ता विष्णुकुमार केसी आन्दोलन या विरोधमा प्रहरी मारिनुमा पूरै समाजकै संलग्नता भन्न नमिल्ने बताउँछन् । विभिन्न घटनाको आक्रमणमा प्रहरी मारिनुको पछाडिको मुख्य कारणमा आपराधिक मानसिकता र सोच जिम्मेवार हुने गरेको उनको बुझाइ छ ।