बोक्सीको आरोप लगाउने दुई महिला पक्राउ



स्याङ्जा : बोक्सीको आरोप लगाउने दुई महिलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। एक महिलालाई बोक्सीको आरोप लगाई गालीगलौज गरी पीडा दिएको जाहेरी बुधबार वडा प्रहरी कार्यालय वालिङमा परेपछि प्रतिवादीहरु दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।

नायब उपरीक्षक भण्डारीका अनुसार तनहुँ बन्दीपुर नगरपालिका-६ घर भइ पोखरा १६ बस्ने ३३ वर्षीया सोममाया गुरुङ र चापाकोट नगरपालिका-२ बस्ने वर्ष २५ वर्षीया चन्द्रकला थापा पक्राउ परेका हुन्।

पक्राउ परेका दुई महिलाले ३८ वर्षीया एक महिलालाई मङ्गलबार बोक्सीको आरोप लगाई गालीगलौज तथा पीडा दिएको जाहेरीमा उल्लेख गरिएको छ। प्रतिवादी दुवैलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा ‘भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर’ अपमानजनक वा अमानवीय व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्