म्यादीमा मागभन्दा तीनगुणा बढी आवेदन



काठमाडौं । म्यादी प्रहरी बन्न साधारण लेखपढ गरेकाहरू मात्र नभएर स्नातक अध्ययन पूरा गरेकाहरूले पनि आवेदन दिएका छन् । प्रहरी प्रधानकार्यालयले म्यादी प्रहरी भर्नाबारे दरखास्त आह्वान गर्दा आवश्यक न्यूनतम योग्यतामा ‘साधारण लेखपढ गर्न जान्नेलाई प्राथमिकता’मा राखे पनि बढी शैक्षिक योग्यता भएकाहरूबाटै म्यादी बन्न आवेदन आएको प्रहरी प्रधानकार्यालयले जनाएको छ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्नका लागि ३४१ जना स्नातक पूरा गरेकाहरूको आवेदन परेको प्रहरी मुख्यालयका प्रवक्ता विष्णुकुमार केसीले जनाए। यसैगरी प्रवीणता प्रमाणपत्र तह गरेकाहरूबाट ३२ हजार १२ र ८३ हजार २११ जना एसएलसी गरेकाहरूबाट आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। साधारण लेखपढतर्फबाट १ लाख ७७ हजार ७५० जनाले म्यादी बन्न आवेदन दिएको प्रहरी मुख्यालय बताउँछ। प्रहरी मुख्यालयले निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको दरखास्त आह्वान गरेको थियो।

तर, प्रहरी प्रधानकार्यालयबाट माग गरिएको भन्दा तेब्बर अर्थात् २ लाख ९३ हजार २१६ जनाले म्यादी बन्न आवेदन दिएका छन् । प्रहरी मुख्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागेको थियो । प्रहरी मुख्यालयले दर्खास्तको समय यही ६ देखि ११ चैतसम्मलाई आवेदन दिने अन्तिम समय राखेको थियो ।

मधेस प्रदेशमा बढी आवेदन ?
म्यादी प्रहरी बन्न सबैभन्दा बढी मधेस प्रदेशमा आवेदन परेको प्रहरीले जनाएको छ । प्रदेशका ८ वटै जिल्लामा धेरै आवेदन परेको प्रहरी प्रधानकार्यालयको भनाइ छ । प्रहरी प्रवक्ता विष्णुकुमार केसीले सबैभन्दा बढी आवेदन मधेस प्रदेशमा परेको बताए ।

‘अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी मधेस प्रदेशमा ६८ हजार ६ जनाको आवेदन परेको छ’, प्रहरी प्रवक्ता केसीले भने, ‘त्यसपछि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५६ हजार ५६० जनाको आवेदन परेको छ।’ यसैगरी प्रदेश १ मा ५० हजार ९४४, बाग्मतीमा २७ हजार ८३४, गण्डकीमा २५ हजार ५०, कर्णालीमा २१ हजार २५४ र सुदूरपश्चिममा २९ हजार ७१४ जनाको आवेदन प्रहरीमा परेको छ। उत्यकामा १३ हजार ९५० आवेदन परेको बताइएको छ ।

तेस्रो लिङ्गीबाट आवेदन
म्यादी प्रहरीमा जागिर खानका लागि महिला वा पुरुष मात्र नभए अन्य लिङ्गको पनि आवेदन परेको छ । प्रहरी प्रधानकार्यालयको तथ्याङ्कमा कुल आवेदनमध्ये महिला/पुरुषबाहेक २ जना तेस्रो लिङ्गीबाट पनि आवेदन आएको उल्लेख छ।

लुम्बिनी प्रदेशमा तेस्रो लिङ्गीबाट आवेदन भरिएको प्रहरी मुख्यालयले जनाएको छ । त्यसैगरी ६९ हजार ६८० जना महिलाले आवेदन दिएका छन् । यसैगरी पुरुषतर्फ भने २ लाख २३ हजार ६३२ जनाको आवेदन परेको छ ।
कसरी गरिन्छ छनोट ?
म्यादी प्रहरी छनोटको प्रक्रिया मंगलबारदेखि अगाडि बढ्छ । ‘मंगलबारदेखि स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हुनेछ’, प्रवक्ता केसीले भने, ‘त्यसपछि क्रमशः विभिन्न चरणमा पास हुँदै जाने अन्तरवार्तासम्म पुग्नेछन् र २५ गते अन्तिम नतिजा प्रकाशन हुनेछ ।’

म्यादी प्रहरी छनोटका लागि प्रत्येक जिल्लामा, प्रमुख जिल्ला अधिकारी (सीडीओ)को संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ । जसमा, जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहने प्रावधान छ।

म्यादी प्रहरी भर्ना, छनोट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रमअनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाउने मापदण्डमा उल्लेख छ। मापदण्डमा उल्लेख भएअनुसार म्यादी प्रहरीले प्रहरी जवानको सरह सुविधा पाउनेछन् । प्रहरी प्रधानकार्यालयका अनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीले तलब ठाउँअनुसार ३० हजारदेखि ७५ हजार रुपैयाँसम्म पाउन सक्नेछन् । म्यादी प्रहरीको तालिम एक सातासम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्