नेकपा प्रवेशपछि मनांगेले भने, ‘कांग्रेसकाे सिद्धान्त नै छैन, देश बनाउने भनेकाे नेकपाले हाे’



पोखरा : गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे अर्थात  मनाङ ‘ख’ बाट स्वतन्त्र विजयी राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि कांग्रेसविरुद्ध खराे टिप्पणी गरेका छन्।  

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टी प्रवेश गराएका हुन्। 

कमल थापा नेतृत्वको राप्रपा हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका मनाङे समाज सेवाको लागि राजनीतिमा आएको बताए। भने, ‘सरकारले दिएको ४५ हजारले त चिया खान पनि पुग्दैन। म त समाज सेवाको लागि राजनीतिमा आएको हो ।’

कांग्रेसको स्पष्ट विचारधारा नै नभएको बताएका उनलाई सञ्चारकर्मीले पहिला त कांग्रेसकै राजनीतिमा हुनुहुन्थ्याे भन्ने प्रश्न गर्दा उनले भने, 'होइन् म आफैं भने कांग्रेस होइन्, मेरा नजिकका भाइहरु कांग्रेसमा भएकाले उनीहरुलाई सपोर्ट मात्रै गरेको हुँ।’ आफू नेकपामा प्रवेश गरिसकेपछि सकभर उनीहरुलाई पनि नेकपामा ल्याउने उनले बताए। 

तत्कालीन माओवादी अथवा एमाले भन्दा पनि कम्युनिष्ट भएकाले नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको उनको धारणा छ। ‘मलाई लाग्छ नेकपा नै नेपाल कै पार्टी हो,’ उनले भने, ‘त्यसैले नेकपामा छिरेको हुँ।’ 

गुरुङ चुनावमा विजयी भएपछि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानै मुद्दामा समातिएका थिए। 

कुनै लोभले भन्दा पनि नेकपाले देशको लागि केही राम्रो गर्छ भनेर नेकपामा प्रवेश गरेको उनी बताउँछन्। अबको ५ वर्षसम्म राजनीतिलाई केन्द्रमा राखेर समाजसेवाको बाटोमा अघि बढ्ने उनले सुनाए। 

प्रतिक्रिया दिनुहोस्