बित्थडमा आधारभुत स्वास्थ्य चौकीको उद्घाटन



बझाङ : बझाङको बित्थडचिर गाउँपालिका–१ मा आधारभुत स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ। शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष प्रेमबहादुर बोहरा र उपाध्यक्ष जानकीले संयुक्त रुपमा आधारभूत स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन।

बित्थडचिर गाउँपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा निर्मित ६ कोठे भवनमा आधारभूत स्वास्थ्य चौकी उद्घाटन गरिएको हो। स्वास्थ्य चौकी संचालनको लागि अहेव, अनमी, स्विपर र एक कार्यालय सहयोगी गरी ४ जना कर्मचारीको व्यवस्था गरेको छ।

सुत्केरी महिला र नवजात शिशुको जीवन बचाउका लागि सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरणको व्यवस्था, औषधि, कोठा लगायतको व्यवस्थापछि स्वास्थ्यचौकी सुरू गरिएको वडाध्यक्ष धनबहादुर बोहराले बताए। उनले स्वास्थ्य चौकीमा केही सामाग्री र औषधि उपकरणको अभाव रहेको स्वीकार गर्दै उक्त समस्या समाधानको लागि गाउँपालिका सङ छिट्टै पहल गरी समाधान गर्ने बताए।

वडाध्यक्ष बोहराले स्वास्थ्य चौकीमा खटाइएका कर्मचारीलाई रातदिन नभनी सेवाग्राहीको सेवामा खटिन निर्देशन दिए। गाउँपालिका स्वास्थ्य संयोजक हरिभक्त अवस्थिले आधारभुत स्वास्थ्य चौकीका सेवा भित्र बर्थिङ्ग सेन्टर पर्ने भएकोले बर्थिङ्ग सेन्टर र आधारभूत स्वास्थ्य चौकी छुट्टाछुट्टै राख्नुको कुनै अर्थ नभएको बताए। उनले अहिले आधारभूत स्वास्थ्य चौकी क्याट २ मा रहेको र क्याट १ मा पर्ने बितिक्कै एकीकृत रुपमा स्वास्थ्यबाट प्रदान हुने सबै सेवाहरू दिन सकिने बताए।

सामान्य गर्भवती महिलालाई सुत्केरी गराउनका लागि २–३ घण्टा हिँडेर जानुपर्ने बाध्यता देखि सामान्य स्वास्थ्य सेवाबाट बन्चित भैरहेका जनताहरूको लागि वडामा स्वास्थ्य चौकी स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष जानकी बोहराले बताइन।

यस्तै गाउँपालिका अध्यक्ष बोहराले बित्थडमा स्थापना भएको स्वास्थ्य चौकीमा कुनै किसिमको स्वास्थ्य सामाग्री, औषधि उपचारको अभाव हुन नदिने प्रतिबद्धता जनाए। बित्थडचिरमा स्थापना भएका ६ वटा आधारभूत स्वास्थ्य चौकी मध्ये नमुना र उत्कृष्ट स्वास्थ्य चौकी रहेको बताउँदै सर्वसाधारणको घरदैलोमै स्वास्थ सेवा पुगेको बताए।

प्रतिक्रिया दिनुहोस्