बेनीमा एक महिनादेखि खानेपानीको आपूर्ति बन्द : बोतलको पानी किनेर खान बाध्य 



म्याग्दी : सडक विस्तारका क्रममा पाइपलाइनमा क्षति पुगेपछि विगत एक महिनादेखि बेनी बजारमा खानेपानीको नियमित आपूर्ति बन्द भएपछि बजारवासीहरु ट्याक्टरबाट पानी बोकेर वा वोत्तलको पानी किनेर खान बाध्य भएका छन् । 

बेनी–जोमसोम सडकको गलेश्वरदेखि राहुपारे खण्डको सडक विस्तारका क्रममा डोजरले पाइपलाइन फुटाइदिएपछि विगत एक महिनादेखि दैनिकजसो खानेपानी आपूर्ति अवरुद्ध भएको हुने गरेको हो ।

निर्माण कम्पनीले समन्वय नगरी जथाभावी डोजर चलाउँदा पाइप भाँचिने र फुटेर पानी आपूर्ती अवरुद्ध भएको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो । एक महिनायता बेनीमा नियमित खानेपानी आपूर्ति हुन सकेको छैन् ।

‘डोजरले पाइप फुटाएर हैरान भएको छ,’ अध्यक्ष श्रेष्ठले भने ‘समन्वय र बैकल्पिक व्यवस्था नगरी सडक विस्तार गर्दा बेनीमा खानेपानीको हाहाकार भएको हो ।’ खानेपानी आपूर्ति अवरुद्ध हुँदा बेनीका सर्वसाधारण र होटल व्यवसायी समस्यामा परेका छन् । ट्याङ्करबाट खानेपानी ल्याएर उपभोग गर्नुपर्ने अवस्था आएको स्थानीय कुलदिप जुग्जालीले बताए । खाना पकाउन र शौचालय जानका लागि समेत जार र बोत्तलको पानी किन्नु परेको होटल व्यवसायी दिपक घर्तीले गुनासो गरे ।

एक हजारभन्दा धेरै घरधुरी रहेको बेनी बजारमा प्रतिसेकेण्ड २५ लिटर खानेपानी आवश्यक पर्ने संस्थाका प्रबन्धक चन्द्रबहादुर थापाले बताए । संस्थाले पुम्दीखोला र दुधेखोलाको मुहानबाट पानी ल्याएर बेनीमा वितरण गर्दै आएको छ । 

‘पहिरोले पाँच सय मिटर पाइप बगाएपछि एक वर्षयता दूधेखोलाको मुहानबाट खानेपानी आपूर्ति हुनसकेको छैन’ थापाले भने । पुम्दीको बैकल्पिक स्रोत दूधेखोलाबाट प्रति सेकेण्ड तीन लिटरका दरले पानी आपूर्ति हुने गरेको थियो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तरगत गलेश्वरदेखि राहुपारे खण्डको चार किलोमिटर दूरीमा शर्मा–युनाइटेड जेभीले विस्तारको काम गरिरहेको छ । सडक छेउमा पाइपलाइन राखेर बेनीमा पानी आपूर्ति गरिँदै आएको छ । हाल ६ मिटर चौडाइ भएको सडकलाई विस्तार गरेर ११ मिटर फराकिलो बनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्