सकियो उपल्लो मुस्ताङ–चीन मेला : आयात बढ्यो, निर्यातमा पश्मिना मात्रै



म्याग्दी : हिमालपारीको जिल्ला मुस्ताङको लोमानथाङमा अन्तरदेशीय नेपाल–चीन व्यापार मेला सम्पन्न भएको छ।

दश दिनसम्म संचालन भएको सो व्यापार मेलामा चिनबाट मुस्ताङमा सिमेन्ट, रड, जुस, बिस्कुट, चकलेट, घ्यू, ब्ल्यांकेट र चाउचाउजस्ता सामान आयात भएका छन् भने नेपालबाट भने पश्मिना बाहेक अन्य सामान निर्यात नभएको सरकारी अधिकारीले बताएका छन्।

नेपाल–चीन सीमा क्षेत्र (कोरला नाका) मा रहेको भन्सारका अधिकृत यादवराज पहाडीका अनुसार मेलामा नेपाली वस्तुको निर्यात नभए पनि राजस्व संकलनमा भने लक्ष्यभन्दा १८ दशमलव ८९ प्रतिशतले बृद्धि भएको छ।

सरकारले चालू आर्थिक वर्ष २०७५–०७६ का लागि कुल १२ लाख ५० हजार रुपैयाँ राजस्व संकलन लक्ष्य राखेकोमा मेला सम्पन्न भएसँगै १४ लाख ८६ हजार २२७ रुपैयाँ संकलन भएको भन्सार अधिकृत पहाडीले जानकारी दिए।

वर्षको दुईपटक लाग्ने उक्त मेलाबाट हुने राजस्व संकलनलाई नै सरकारले कोरला नाकाको वार्षिक राजस्व संकलन लक्ष्यमा राख्ने गरेको छ। चालू आवको गत भदौमा लागेको पहिलो मेलाबाट मुस्ताङ भन्सार कार्यालयले ७ लाख ६० हजार ४७४ रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यसैगरी हालै मात्र सम्पन्न दोस्रो मेलाबाट ७ लाख २५ हजार ७५३ रुपैयाँ संकलन भएको भन्सार अधिकृत पहाडीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्