विद्यार्थी र मन्त्री बोकेर नेपाल आउने भो रेल



  • जयन्त ठाकुर

जनकपुरधाम । ३ दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार (आज) नेपाल रेल्वेको उद्घाटन गर्ने भएका छन्। भारतीय प्रधानमन्त्रीको आवास हैदवरावादमा आयोजना हुने एक कार्यक्रमकाबीच दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर नेपाल रेल्वेको संयुक्तरूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन्।

शनिबार १२ देखि साढे १२ बजेसम्मको बीचमा रेल्वेको उद्घाटन गर्ने समय तालिका छ । उद्घाटन समारोहलाई भारतको जयनगर र जनकपुरधाममा लाइभ हेर्ने व्यवस्था मिलाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । यही समयमा जनकपुरधामस्थित रेल्वे स्टेसनमा समेत एक कार्यक्रमको आयोजना गरिएको छ। जयनगरमा अतिविशष्ट व्यक्तिहरु मात्रै रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम देखाइने महाप्रबन्धक झाले बताए।

दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ । प्रत्येक स्टेसनमा स्कुलका बालबालिका नेपाल भारतको झण्डा लिएर रेल्वेको स्वागत गर्ने कार्यक्रम छ । ‘प्रत्येक स्टेसनमा १५ जना विद्यार्थी नेपाल भारतको झण्डा बोकेर रेलमा सवार हुनेछन्, उनीहरुलाई समेत त्यही रेलमा चढाएर कुर्थासम्म ल्याउने कार्यक्रम छ’, झाले बताए । रेल कुर्था पुगेपछि भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादवलाई चढाएर जनकपुरधामस्थित स्टेसनसम्म ल्याइनेछ । जहाँ उद्घाटनको अन्य कार्यक्रम पनि हुनेछ ।भौतिक पूर्वाधार मन्त्री यादवले रेल्वे सञ्चालनमा आएपछि धनुषाका स्थानीयवासीलाई यातायातमा सहज हुने बताइन् । भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४ दशमलव ९ किलोमिटरसम्म चल्ने रेल दिनको २ पटक ओहोरदोहोर गर्नेछ ।

उद्घाटनका दिनभने एकपटक मात्र गुड्नेछ । बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ भने २ घण्टापछि कुर्था स्टेशनमा पुग्नेछ । त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि प्रस्थान गर्नेछ । सो रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए । जयनगर पुगेको रेल पुनः ३ बजे फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताए । कुर्थादेखि जयनगरसम्मका लागि जनरल बगीको ९० रुपैयाँ भाडा निर्धारण गरिएको छ भने एसीयुक्त बगीका लागि ४५० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै एक स्टेसनबाट अर्को स्टेसनसम्मका लागि जनरल बगीका लागि २० रुपैयाँ र एसी बगीमा १०० रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।

रेल गत १ फागुनदेखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुविहीन) दैनिक एकपटक सञ्चालनमा थियो । नेपालको इनर्वादेखि कुुर्थासम्म गरी नेपाल रेलको सुरक्षामा १३६ जना प्रहरी खटाइएको छ । ठाउँ ठाउँमा रहेको कुल २२ वटा लेबल ट्र्याक क्रसमा रेल्वे गुड्ने समयमा सो बाटो भएर आवतजावत बन्द गराउनका लागि २२ जना कर्मचारी खटाइएको महाप्रबन्धक झाले बताए । कुल ८ वटा स्टेसनमध्ये ७ वटा स्टेसनमा टिकट काउन्टरकोे व्यवस्था गरिएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनमा आउन लागेको हो। डिजेल इलेक्ट्रिक मल्टिपल युनिट डिजेल र विद्युत् दुवैबाट चल्ने यी दुवै विश्वमै नयाँ मोडेलका रेलको रुपमा तयार गरिएको निर्माण कम्पनीले दाबी गरेको छ । डीपीसी १९०१ र डीपीसी १९०२ नम्बरको दुवै रेल १ हजार ६०० हर्स पावरका हुन् । प्रति घण्टा ११० किलो मिटरको स्पिडमा चल्न सक्ने रेल एक पटकमा १ हजार ३०० सम्म यात्रु सवार हुन सक्नेछन् ।

एउटै इन्जिन भए पनि दुवै तर्फबाट चलाउन सकिने रेलको एउटा डब्बामा ७० वटा सिट छन् । २० मिटर लामो रेलको इन्जिनबाहेक १ एसी र ४ वटा जेनरल डब्बा छ । यो रेलले प्रतिकिलोमिटर २ लिटर डिजेलको एभरेज दिनेछ । प्रत्येक डव्बामा शौचालयको व्यवस्था गरिएको छ यसका साथै एसी बगीबाहेक अन्य जनरल डब्बामा ठाउँठाउँमा पंखासमेत लगाइएको छ । विसं १९९४ मा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लैजान रेल्वे लाइन विस्तार गरेको थियो। त्यसबेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो । पछि भारत सरकारले १८ वटा डब्बासहित वाष्प इन्जिन सहयोग गरेको थियो । २०५१ सालदेखि स्टिम इन्जिनयुक्त रेल सञ्चालनमा आएको थियो। २०६१ माघमा रेल बन्द भएको थियो । अहिले नेरोगेजबाट ब्रोडगेजमा रेल परिणत गरिएको छ।

पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालन गरिनेछ । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग ३ खण्डमा निर्माण भइरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना छ ।

पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारी भइसकेको छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम जारी छ ।

प्रतिक्रिया दिनुहोस्