भारतले तरकारी आयातमा रोक लगाएपछि, बझाङकाे तरकारीले बजार पायाे



सरकारले ताजा तरकारी तथा फलफूल आयात गरिँदा भन्सारमा  क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण अनिवार्य गरेपछि भारतबाट भित्रने तरकारी आउन सकेका छैनन्।

असार ३ देखि कार्यान्वयनमा आएको उक्त व्यवस्थापछि भारतले नेपाल आयात हुने तरकारीमा रोक लगाएको थियो। यससँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने तरकारीले राम्रो बजार पाएको छ।

बजारमा तरकारी अभाव भएपछि पहाडमा उत्पादन हुने आलु, प्याज, लसुन, काउली, काक्रालगाए हरिया तरकारीको बजार माग बढ्दै गएको छ भने किसानले चाहेअनुसार तरकारीको मूल्य पाइरहेका छ्न्। 

विगतका वर्षहरुमा १५ देखि १८ रुपैयाँमा बिक्री हुने आलु यो वर्ष भने प्रति केजी ३० देखि ३५ रुपैयाँमा बिक्री भइरहेको छ कृषकहरुले बताएका छन्। विगतमा बजारमा बिक्री नभएर आफन्त र नातेदारलाई कोसेलीको रुपमा पठाइने आलु यो वर्ष बजारमा एक्कासि राम्रो दरमा बिक्री हुन थालेकोमा बझाङका कृषक उत्साहित भएका छन्। 

मूल्य नपाउने डरले अघिल्लो साल थोरै खेतमा मात्रै आलु लगाएको थिएँ,’ बझाङ बित्थडका स्थानीय कृषक गणेश बोहराले भने, ‘यो वर्ष त स्थानीय साहुजीहरुले जति भए पनि ल्याउनुस् भने, सबै बिक्री गरेर सकियो।’ आम्दानी पनि राम्रै भएको भन्दै उनले थपे, ‘अब खेतमा नयाँ बाली लगाउने तयारी गर्दै छु।’

गत वर्ष  १५ देखि २० हजारको आलु बिक्री गर्ने बोहराले यसपालि एक महिनामै ३५ हजार बराबरको आलु बिक्री गरिसकेका छन्। 

यस्तै बझाङ सुर्मा गाउँपालिकाबाट दिनहुँ सदरमुकाम चैनपुरलगाएत बजारमा आलु बिक्री गर्न आउनेको लर्को लाग्ने गरेको छ। दैनिक एक परिवारले १ देखि २ क्विन्टल आलु बिक्री गरेर घर फर्किने गरेका छ्न्। 

बिक्री गर्न ल्याएको आलु नबिकेपछि फिर्ता लग्नपर्ने बाध्यताबाट उनीहरु मुक्त भएका छन्। सस्तो मूल्यमा छोडेर जानुपर्ने बाध्यता सुनाउँदै दौलिचौरकी मीना बोहरा भन्छिन्, ‘यो साल त बजार नपुग्दै व्यापारीले बोलाइहल्छ्न, भने जस्तै रेट पनि पाइन्छ।’

स्थानीयबाट संकलित आलु, प्याजलगाएत तरकारीका  ठूला व्यापारीहरुले धनगढी, महेन्द्रनगर, नेपालगन्जलगायत सहरमा पठाउने गरेका छन्। बाहिरी जिल्लाका व्यापारीहरू पनि आलु किन्न जिल्लामै आइपुगेका छन् यतिबेला।

बझाङका किसानले विगतका वर्षमा कुल उत्पादनको ३० प्रतिशत मात्रै आलु निर्यात र बिक्री गर्ने गरे पनि यसपालि भने झण्डै ६५ प्रतिशत आलु निर्यात गरिसकेको कृषि ज्ञानकेन्द्र बझाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्