उपत्यकामा टिपर आतंक : ९ महिनामा ७ जनाको मृत्यु



काठमाडौं । काठमाडौं उपत्यकामा ३ दिन अगाडि टिपर दुर्घटनामा परी २ जना नबालक मृत्यु । टिपरको ठक्करबाट ज्यान गुमाएका चार वर्षीया श्रेया र ८ वर्षीया सृष्टि तामाङको ज्यान गयो । गोकर्णेश्वर नगरपालिका–१ तामाङ गाउँ निवासी रोहन घिसिङ दुई छोरीलाई मोटरसाइकलमा राखेर घर नजिकैको बस स्टपसम्म पुर्‍याउन हिडेका थिए।

त्यही समयमा नजिकै सञ्चालित क्रसर उद्योगबाट बा४ख ६९६५ नम्बरको टिपरले रोडा लोड गरेर टिपर पनि निस्केको थियो । घिसिङ पनि त्यही टिपरको पछिपछि बा५१प ८४२४ नम्बरको मोटरसाइकल चलाइरहेका थिए। यहीक्रममा एक्कासी टिपर ब्याक भयो र घिसिङ चलाएको मोटरसाइकल पनि दुर्घटनामा पर्‍यो । अनि कक्षा दुईमा पढ्ने आठ वर्षीया सृष्टि र नर्सरीमा पढ्ने चार वर्षीया श्रेया टिपरको चक्कामुनि परेर मृत्यु भयो। ०७७ भदौ ८ गते राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिपरले सिनामंगलमा मोटरसाइकललाई ठक्कर दिँदा पासाङ भोटेको मृत्यु भयो चार जना घाइते बने ।

तीव्र गतिमा दौडिरहेको टिपरले एक साथ तीनवटा मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपर तथा ट्रकको ठक्करबाट बटुवाको मृत्यु भएको यी घटना नौला भने होइनन् । यस अघि पनि पटक–पटक यस्ता घटना दोहोरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको अभिलेखमा काठमाडौं उपत्यकामा पछिल्लो ९ महिनामा मात्र ७ जनाको टिपर ठक्करबाट मृत्यु भएको उल्लेख छ ।
कहाँ बढी ?
उपत्यकामा हरेक महिना टिपरको ठक्करबाट १ जनाको ज्यान जाने गरेको ट्राफिक प्रहरीको आँकडामा देखिन्छ । पछिल्लो ९ महिनामा उपत्यकामा भएको कुल टिपरको दुर्घटनामध्ये सबै भन्दा बढी भक्तपुरमा मृत्यु भएको तथ्यांकमा देखिन्छ ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार उपत्यकाको भक्तपुरमा ३ जनाको ज्यान गएको छ । त्यसपछि २/२ जनाको काठमाडौं ललितपुरमा मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांक छ। उपत्यकामा यो वर्ष ६०२१ वटा अन्य सवारी साधनबाट दुर्घटना भएका छन् । जसमा ९० जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांक छ।
मोटरसाइकसँगको दुर्घटना धेरै
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार उपत्यकामा मात्र चालू आर्थिक वर्षको ९ महिनामा ७ जनाले ज्यान गुमाएका छन्।
उपत्यकाका तीनवटै जिल्लामा साउनदेखि चैतसम्ममा भएका १६ वटा टिपर दुर्घटनामा ७ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रवक्ता संजीव शर्मा बताउँछन् ।

ट्राफिक प्रहरीको यो आँकडाले उपत्यकामा हरेक महिना औसतमा १ जनाको मृत्यु भइरहेको देखाइरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता शर्माका अनुसार टिपरको ठक्करबाट सबै भन्दा बढी मोटरसाइकल तथा स्कुटर चालक नै दुर्घटनामा पर्ने गरेका छन् । यही आँकडामा कुल मृत्यु भएकाहरुमध्ये ५ जना मोटरसाइकल र स्कुटरका मात्रै छन् । तरपनि सम्बन्धित निकायबाट यसतर्फ बेवास्ता भइरहेको सर्वसाधारणको गुनासो छ ।
किन दुर्घटना ?
बाग्मती प्रदेशमा आब २०७७/०७८ मा ९०३३ वटा टिपर यातायात व्यवस्था विभागमा दर्ता छन् । दर्ता भएका अधिकांश टिपर उपत्यकामा गुड्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । यसको अलावा अन्य प्रदेशबाट पनि टिपर भित्रिने गरेको ट्राफिक प्रहरीले जनाएको छ। टिपर ढुंगा, गिट्टी बालुवा लगायतका सामान धेरै परिणाममा बोक्न गरी बनाइएको हुन्छ ।

तर टिपरबाट ‘ग्राउन्ड लेभल’ देखिदैन । यही खराब पक्ष पनि यही हो । जब टिपर चालकले ग्राउण्ड लेभल देख्न सक्दैन् अनि त्यहीबेला दुर्घटना हुन्छ । कारण–त्यो समयमा तलबाट मोटरसाइकल/स्कुटर ‘ओभरटेक’ गरे या अनियन्त्रित रुपमा नजिकै आउँदा नदेखेर दुर्घटना हुने गर्छ। ट्राफिक प्रहरी प्रवक्ता शर्मा सुनाउँछन्, ‘एउटै दिशामा जाँदा टिपर चालकले आफू भन्दा अगाडिको सवारी साधन देखेपनि अन्य साइड तर्फको सानो सवारी त्यति देख्न सक्दैनन् । किनकी टिपरको बनावट नै त्यस किसिमको हुन्छ। यसले दुर्घटनाको जोखिम बढी रहन्छ ।’ प्रवक्ता शर्माका अनुसार टिपर चालकसहित अन्य सवारी चालक सावधानी अपनाए धेरै हदसम्म दुर्घटनामा कमी आउनेछ ।
नियन्त्रणका प्रयास
ट्राफिक प्रहरीकाअनुसार उपत्यकमा खासगरी टिपर गिट्टी,बालुवासहित भौतिक निर्माणमा आवश्यक कच्चा पदार्थको ढुवानी गर्छन् । अर्थात् राजधानीमा भौतिक निर्माणमा आवश्यक कच्चा पदार्थ आपूर्तिका लागि टिपर राजधानी ओहोर-दोहोर गर्छन्। त्यसैले बढ्दो दुर्घटना न्यूनीकरण गर्ने भन्दै टिपर आवतजावतका लागि ‘टाइम कार्ड’ लागू भएको छ।

सोहीअनुरुप अहिले काठमाडौं बाहिरका विभिन्न जिल्लाहरुबाट टिपर बालुवा, ढुंगा, गिट्टी लगायत सामान बोकर काठमाडौं उपत्यका भित्रने गरेका छन् । बेलुकी ९ बजेदेखि विहान ४ बजेसम्म मात्र उपत्यकामा टिपर आवतजावत गर्ने गरेको ट्राफिक प्रहरी प्रवक्ता शर्माले बताए । योबाहेक अन्य सचेतनामूलक कार्यक्रम पनि सञ्चालनमा रहेको ट्राफिक प्रहरी प्रवक्ता शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्