दिल्लीस्थित दूतावासमा नेपालको चुच्चे नक्सा खै ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको आरोप लगाएका हुन् । उनले भने, ‘सम्मानीय प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइयो । भौगोलिक अखण्डाप्रतिको यो खेलबाड के साधारण कुरा हो ? ’ ओलीले भने, ‘हिजो मात्रै दिल्लीस्थित नेपालको दूतवासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको बुच्चे नक्सा राखिएको छ, चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रिय दलाली र योभन्दा राष्ट्रको गौरव र शीर निहुर्‍याउने योभन्दा लज्जाजनक कुरा के हुन्छ ?’

आफूले प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ नदिएको भन्दै ओलीले भने, ‘यसकै लागि जानुभएको रहेछ ।’

प्रतिक्रिया दिनुहोस्