…अनि टी–सिरिजले पत्यायो सुमनलाई



काठमाडौं ज्याठाका गायक सुमनशेखर मानन्धर कृषि विषय पढ्न पाकिस्तान नपुगेको भए सायदै त उनले उर्दू भाषा सिक्दैन थिए । नेपालमा रहँदा नेपाली, हिन्दी, थारू र नेपाल भाषाका गीत गाउने सुमनलाई पाकिस्तानमा सिकेको उर्दूले सम्भवतः यसै महिना संगीतमा नयाँ ‘टर्निङ पोइन्ट’ दिँदै छ ।
उनले गाएको उर्दू भाषाको गजल ‘शाम से हि दिल तडप रहा है’ यसै महिना भारतको लोकप्रिय संगीत कम्पनी टी–सिरिजबाट सार्वजनिक हुँदै छ । यो गजल उर्दू एकेडेमी नेपालका अध्यक्ष इम्तियाज वफाले ३ वर्षअघि लेखेका र संगीतबद्ध गरेका हुन् ।
‘टी–सिरिजसँग मेरो नियमित कुराकानी भइरहेको छ । भारतमा बनेका धेरै गीतहरु टी–सिरिजबाट आउने तयारीमा थिए । तर कोरोना महामारीका कारण आउन सकेनन् । त्यहीकारण ती गीतसँगै मेरो गजल पनि उनीहरुले क्युमा राखेको जानकारी दिएका छन् । उनीहरुले चाँडै आउँछ भनेर मलाई खबर गरेका छन् । उनीहरु सकारात्मक छन्’, सुमन भन्छन् ।
सुमनका लागि यो गजल उनको करियरको ‘ड्रिम प्रोजेक्ट’ हो । फिल्म तथा म्युजिक भिडियो निर्देशक जनकदीप पराजुलीको नेतृत्वमा करिब १६ जनाको टिमले मुगुको रारा पुगेर गजलको छायांकन गरेका छन् । ‘गजलमा मैले नेपालको पर्यटनलाई देखाउन खोजेको छु । गजलले प्रेम भाव बोले पनि भिडियोका कलाकारको माध्यमबाट नेपालको पर्यटनलाई विश्वभरका दर्शकमाझ देखाउने प्रयास गरेको छु’, सुमनको दाबी छ ।
यो गजलको एरेन्जदेखि अन्य सबै प्राविधिक काम नेपालमै भए पनि स्वरांकन भारतको मुम्बईमा गरिएको छ । ‘यो गजल अहिलेको ट्रेन्डमा तुरुन्तै भाइरल त नहोला, तर विस्तारै ग्रो–अप हुन्छ । गजल फ्लेभर भएकाले लामो समयसम्म मान्छेको मनमा बस्छ’, उत्साहित सुमन सुनिए, ‘टी–सिरिजमा छिर्न पाउनु ठूलो कुरा हो । ममा डर र उत्साह दुवै छ । म नेपाली, अझ नेवारी समुदायको भएकाले मलाई उर्दू गजल गाउन चुनौतीपूर्ण नै हो । यो गजल रिलिज भएको दिन मेरा लागि ऐतिहासिक हुनेछ ।’
सुमनका अनुसार ३ वर्षअघि यो गजल वफाले उनलाई सुनाएका थिए । त्यसपछि उनका कान्छो मामा दीप तुलाधरको स्टुडियोमा प्रदीप श्रेष्ठको संगीत संयोजनमा रेकर्ड गरिएको थियो । सुमनको बुझाइमा हरेक गायकले उर्दू सिक्नुपर्ने रहेछ । उर्दूले अन्य भाषा बुझाउन सहयोग गर्ने उनको विश्वास छ । सुमनले पाकिस्तानको ४ वर्षे बसाइलाई संगीतमय बनाउन नेपालबाट गीतार लगेका थिए । उनले कलेजमा हुने विभिन्न कार्यक्रममा गीत गाउने निम्तो पाउँथे । जहाँ उनले नेपाली, हिन्दी र केही उर्दू गीत सुनाउँथे ।
गायनमा सुमन नयाँ अनुहार होइनन् । ३० वर्षअघि नेपालमा पप गीतले बजारमा पकड बनाइरहँदा सुमनले सन् १९९५ मा पहिलो एल्बम ‘बिर्सनै सकिनँ’ स्रोतामाझ ल्याए । १० वटा गीत रहेको एल्बममा रहेको गीत ‘१६ वर्षे तिम्रो जोवन’ निकै लोकप्रिय भएको थियो । त्यसको २ वर्षपछि उनको अर्को गीत ‘चञ्चले नानी’ उत्तिकै सफल रह्यो । यो गीतको भिडियो नेपाल टेलिभिजनको ‘छायाछवि’ कार्यक्रममार्फत प्रसारण भएको थियो । जुन भिडियोलाई दर्शकले निकै रुचाए । त्यसपछि उनको अर्को गीत ‘कान्छीको लजाउने बानी’ रिलिज भयो । सुमनले आधुनिक, पप, गजल, रोमान्टिक, वियोग, राष्ट्रिय भावना गरी सबै भावका गीत गाएका छन् ।
उनकी आमा पेशाले मेडिकल डाक्टर भए पनि गीत गाउने भएपछि सुमनले घरायसी सांगीतिक माहोल राम्रै पाए । अझ उनका पिता शेखर मानन्धर विसं २०१५–०१६ सालताका रेडियो नेपालमा नेपाली, नेवारी, हिन्दी, अंग्रेजी समाचार पढ्थे ।
एसएलसी दिएपछिको खाली समय उनी घरमै नारायण गोपाल, बच्चु कैलाश, प्रेमध्वज प्रधानका गीतमा रियाज गरेर बिताउँथे । उनका मामा दीप तुलाधरले कलकत्ताबाट केही रेकर्डिङको सामान ल्याएपछि उनले माइकमा पहिलोपटक प्रेमध्वज प्रधानको गीत ‘तारामात्र होइन तिमीलाई’ रेकर्ड गराए । जहाँ मामा दीपले हार्मोनियममा साथ दिएका थिए । त्यसभन्दा अघि उनले रेडियो नेपालमा मामाकै संगीत तथा भरत देउरालीको शब्दमा ‘जीवन मेरो एक्लो भइदिँदा’ बोलको गीत रेकर्ड गराए ।
‘मेरो झुकाव गजलतिर नै थियो । म नियमित गजल सुन्थें र गाउँथें । तर त्यो समयमा पपको माहोल भएकाले एल्बमको शुरुवात पपबाटै गरें’, सुमन केही खुले, ‘अहिले पनि व्यावसायिक रूपमा गीत गाउन छोडेको छैन । ५ वर्षअघि दीपक जंगमको संगीतमा कालीप्रसाद रिजालको एउटा गीत र ४ वर्षअघि दिनेश अधिकारीको शब्द र राजु सिंहको संगीतमा पनि गीत गाएँ ।’
सुमनको बुझाइमा अहिले उनी संगीतमा ‘चुजी’ छन् । उनी ‘ह्विम’मा चल्ने गीत गाउन चाहँदैनन् । नारायण गोपाल, बच्चु कैलाश, प्रेमध्वज प्रधानले गाएका फ्लेभरका गीतको शब्दमा गाउने उनको रुचि हो । ‘तर मैले मेरा लागि राम्रो गीत भेटाउन सकेको छैन । मेरो बुझाइमा गीत अब्बल हुुनपर्छ । नारायण गोपाल बितेको ३० वर्ष बढी भइसक्दा उहाँका गीत अझै हिट छन् । नाराणगोपाल, बच्चु कैलाश, प्रेमध्वज प्रधानका जस्ता कालजयी गीत बन्नुपर्छ’, सुमन भन्छन् ।
उनले पाकिस्तानी गायक गुलाम अलीलाई २ पटक भेटेका छन् । हाल एक गैरसरकारी संस्थामा कार्यरत सुमन संस्थाबाट बिदा भएसँगै बाँकी जीवन पूर्णरूपमा संगीतमै लगाउने ध्याउन्नमा छन् ।

प्रतिक्रिया दिनुहोस्