नेपाली बजारमा केपीआरएस ट्रान्सफर्मरको प्रवेश



काठमाडौं । राजधानीमा जारी हिमालयन हाइड्रो एक्स्पोमा भारतीय ट्रान्सफर्मर कम्पनी केपीआरएसले उपस्थिति जनाएको छ। भारतको बैंग्लोरमा कारखाना रहेको सो कम्पनीले विगत ३० वर्षदेखि विभिन्न क्षमताका ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ।

नेपालका विभिन्न जलविद्युत् आयोजनामा सो कम्पनीका ट्रान्सफर्मरहरू प्रयोगमा आएका छन्। जारी एक्स्पोमा नेपालका जलविद्युत् प्रवद्र्धकसँगै अरू कम्पनी तथा व्यक्तिहरू सहभागी हुने भएकाले कम्पनीको बजार प्रवद्र्धन गर्न सहभागिता जनाएको कम्पनीको भनाइ छ। व्यावसायिक भवनदेखि ठूला जलविद्युत् आयोजनामा समेत प्रयोग हुने उच्च क्षमताका ट्रान्सफर्मर कम्पनीले उत्पादन गर्दै आएको छ। नेपालमा ट्रान्सफर्मरको बजार बढ्दै गएको सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको कम्पनीलाई भित्र्याइएको केपीआरएसको नेपालस्थित विक्रेता टेक्नोभिलेज प्रालिका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले बताए।

‘कम्पनीले नेपाली बजारलाई महत्वका साथ लिएको छ। नेपाली व्यवसायीहरूसँग एक्स्पोमा भेटघाट र छलफल गर्न कम्पनीका अध्यक्ष एसएम वंशी, डिजाइन हेड जीडी राजु, प्रोडक्सन हेड बी गोपिनाथ र कन्जुनाथ पेटकरले सहभगिता जनाएका छन्’, देवकोटाले भने । कम्पनीका ट्रान्सफर्मरहरू ४ हजार केभीए (११ तथा ३३ केभी भोल्टेज) का अनट्याप र अफट्याप क्षमता रहेका छन्। त्यस्तै कम्पनीले पावर ट्रान्सफर्मरतर्फ ५० एमभीए (२०० केभी भोल्जेट) क्षमतासम्म उत्पादन गर्दै आएको छ।

त्यसबाहेक आवश्यकताअनुसार विशेष प्रकारका ट्रान्सफर्मर पनि उत्पादन गर्ने देवकोटाको भनाइ छ। नेपालमा गुणस्तरीय ट्रान्सफर्मरको अभाव भइरहेको तथा नेपाली उत्पादनले बजारको माग धान्न नसकिरहेको अवस्थामा केपीआरएसको प्रवेशले नेपाली प्रयोगकर्ताले ढुक्क हुने अवस्था सिर्जना गरेको देवकोटाको दाबी छ।

प्रतिक्रिया दिनुहोस्