सलमानको कन्सर्ट कोरोनाले थलिएको पर्यटन उकास्न हो : मन्त्री आले



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सलमानको कार्यक्रमलाई नै लिएर विरोध हुन थालेपछि मुख खोलेका छन् । कोरोना भाइरसको महामारीले थलिएको नेपालको पर्यटनलाई उकास्न सलमानको कन्सर्ट गर्न लागिएको उनले प्रष्टीकरण दिएका हुन् ।

सगरमाथा आरोहण गर्न लागेका गायक राजु लामा र अभिनेत्री दीया पुनलाई शुभकामना दिन सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले भने, ‘कसैले चिन्ता नलिए हुन्छ । कोभिडले थलिएको पर्यटन क्षेत्रलाई सघाउन सलमानलाई नेपाल ल्याउन लागिएको हो र यसमा सरकारले सहयोग मात्र गरेको हो ।’

उनले कन्सर्टलाई लिएर भइरहेका अन्य आलोचना तर्कसंगत नभएको समेत बताए । सामाजिक सञ्जालमा सलमानसँगको संवादलाई लिएर तीव्र आलोचना भएपछि मन्त्री आलेले प्रष्टीकरण दिएका हुन् । उनले नेपाली कलाकारलाई पनि सघाउन सरकार तयार रहेको बताए । ‘नेपाली कलाकारले पनि आफूलाई चाहिएको कुरा भन्नुपर्छ । सरकार सघाउन तयार छ,’ उनले भने । आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा बलिउड अभिनेता सलमान खानले सांगीतिक प्रस्तुति दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्