सगरमाथा आरोहण गर्दै राजु र दिया, पर्यटनमन्त्रीले दिए शुभकामना



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज सोमवार बिदाइ गरेका छन् ।

मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका हुन्। मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गायक लामा र नायिका दियाले हिमाल आरोहण गर्न लागेको बताए ।

गायक लामाले सगरमाथा आरोहणसहित ६ हजार ५ सय मिटर उचाइको क्याम्प–२ मा वैशाख दोस्रो हप्ता साङ्गीतिक कार्यक्रमसमेत गर्ने बताउनुभयो । उनले भने, ‘कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्द्धन गर्न र सङ्गीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको छु, विश्वको सबैभन्दा उच्च स्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजना छ ।’

गायक लामा चैत २७ गते सगरमाथा प्रस्थान गर्ने र अभिनेत्री पुन चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम तय भएको छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले अभिनेत्री पुनले हिमाल आरोहण गर्न लागेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्