शीर्ष नेताका गृहजिल्लामा विवाद



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि बसेको ५ दलीय गठबन्धनको बैठकले स्थानीय निर्वाचनमा तालमेल गर्नेगरी प्रक्रिया अघि बढाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकले स्थानीय निर्वाचन परिचालन तथा अनुगमन समिति गठन गरेको छ । गठबन्धन भत्किने शंकाका बीच समिति गठन भएको हो ।
समितिले स्थानीय निर्वाचन परिचालन र अनुगमनको महत्वपूर्ण जिम्मेवारी पाएको छ । बुधबारदेखि नै समितिले तालमेलको गृहकार्यलाई भने थाल्ने भएको छ ।
समितिले पालिका, जिल्ला र प्रदेशस्तरीय गठबन्धनको संयन्त्रले पठाउने ५ दलको वस्तुस्थितिबारेको प्रतिवेदनलाई विश्लेषण पनि गर्ने समिति सदस्य देवप्रसाद गुरुङले बताए । त्यसपछि भने समितिले निर्वाचनमा तालमेलको ‘मोडालिटी’ तयार गर्नेछ ।
तर, ३ तहकै संयन्त्रबाट प्रतिवेदन आएको छैन । यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले संयन्त्रहरूलाई मंगलबारसम्म प्रतिवेदन बुझाउन समयसीमा दिएको थियो । प्रतिवेदन नै नआएपछि गठबन्धनको बिहीबारको बैठकले प्रतिवेदन बुझाउने म्याद थपेको छ ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार प्रतिवेदन बुझाउन यही २५ चैतसम्म समयसीमा तोकिएको छ । पार्टीगत स्थिति विश्लेषणका आधारमा कहाँ कुनकुन दलबीच निर्वाचनमा तालमेल गर्ने भन्ने निक्र्योल समितिले गर्नेछ ।
समिति संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । उनी उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत हुन् । उनी नेतृत्वको राजनीतिक संयन्त्रलाई भने संविधानले चिन्दैन ।
उनै पौडेलको नेतृत्वमा गठित समितिमा कांग्रेस महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, नेकपा (माओवादी केन्द्र)का नेताहरू वर्षमान पुन र देवप्रसाद गुरुङ, नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. वेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेल सदस्य छन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट वरिष्ठ नेता अशोक राई, मन्त्री रेणु यादव र राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी पनि समिति सदस्य छन् ।
समितिको बैठक बुधबार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । बैठकमा गठबन्धनको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको छ ।
गठबन्धनमा रहेका सबै दलको सङ्गठन देशभर छैन । राष्ट्रिय जनमोर्चाको सङ्गठन सबैभन्दा कमजोर छ । बागलुङ, प्युठानलगायत केही जिल्लामा मात्र गठबन्धनको सङ्गठन राम्रो छ ।
गठबन्धनको अर्को दल जसपाको पहाडी र हिमाली क्षेत्रका जिल्लाका कतिपय स्थानीय तहमा कमजोर सङ्गठन छ । एकीकृत समाजवादी गत ९ भदौमा मात्र गठन भएका कारण ७५३ वटै स्थानीय तहमा सङ्गठन विस्तार हुन बाँकी छ ।
कांग्रेस पनि केही स्थानीय तहमा अत्यन्तै कमजोर छ । अधिकांश स्थानीय तहमा गठबन्धनका अन्य दलभन्दा कांग्रेस बलियो छ । यसले गर्दा ३ तहमा गठित संयन्त्रबाट प्रतिवेदन आएपछि मात्र समितिले ‘मोडालिटी’ बनाउने भएको हो ।

१५ जिल्लामा तालमेल गर्ने
१५ जिल्लाले गठबन्धनका दलहरूबीच स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेका छन् । तालमेलको निर्णय गर्नेमा प्रदेश १ का धनकुटा, तेह्रथुम र उदयपुर छन् ।
बाग्मती प्रदेशका सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, चितवन, गण्डकी प्रदेशको लमजुङ, कास्की, तनहुँ, बागलुङ, लुम्बनीको प्रदेशको अर्घाखाँची, रोल्पा तथा सुदूरपश्चिम प्रदेशका कंचनपुर र अछामले गठबन्धन गर्ने निर्णय गरेका हुन् ।
मधेस प्रदेश र कर्णाली प्रदेशको भने कुनै जिल्लाले गठबन्धन गर्ने निर्णय गरेका छैनन् । मधेस प्रदेशका कांग्रेस सभापति कृष्ण यादवले मंगलबारदेखि जिल्ला तहमा तालमेल गर्नेगरी छलफल थालिएको बताएका छन् ।
‘प्रदेशस्तरीय संयन्त्रयले तालमेल गर्ने नीतिगत निर्णय गठबन्धनको केन्द्रले गरेको निर्णयको आधारमा भइसक्यो । जिल्लास्तरमा पनि मंगलबारदेखि छलफल सुरु भएको छ’, यादवले द नेपालटपसँग भने, ‘स्थानीय आवश्यकता र औचित्यका आधारमा तालमेलको निर्णय हुन्छ ।’
१७ चैतमा ५ दलको बैठकले देशभर स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको थियो । त्यसपछि प्रदेश र जिल्लाले तालमेलबारे निर्णय गरिरहेका छन् ।
तर, प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा तालमेलको निर्णय भएको छैन । जसपा अध्यक्ष उपेन्द्र यादवको सुनसरी र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा पनि तालमेलको निर्णय भइसकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध निर्वाचनमा गठबन्धनले प्रतिस्पर्धा गर्नेछ ।

तत्काल उम्मेदवार नतोक्न निर्देशन
नेपाली कांग्रेसले तत्काल स्थानीय तहका उम्मेदवार नतोक्न सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । उम्मेदवार निक्र्योल गर्ने तयारी हुँदै गर्दा पार्टी मुख्यालयले सबै जिल्लालाई हतार नगर्न पत्राचार गरेको हो ।
केन्द्रले अर्को निर्णय नगरेसम्म उम्मेदवार टुंगो नलगाउन निर्देशन दिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘उम्मेदवारको चर्चा र सिफारिस भइरहेका बेला अन्तिम निर्णय नलिन भनेका छौँ’, उनले भने, ‘खासगरी पालिका प्रमुख र उपप्रमुखका हकमा हतार नगर्न भनेका छौँ ।’
स्थानीय तहको निर्वाचनमा हरेक तहबाटै उम्मेदवार टुंगो लगाउने कांग्रेसको तयारी छ । वडामा वडा समितिलाई तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गाउँपालिका समितिलाई र नगरपालिकामा उम्मेदवार छान्ने अधिकार नगर कार्यसमितिलाई तोकिएको छ ।
सत्ता साझेदार दलहरूसँग आवश्यकताअनुसार तालमेल गर्ने निर्णय गरेको कांग्रेसले उपमहानगर र महानगरपालिकामा भने केन्द्रबाटै उम्मेदवारको टुंगो लगाउनेछ ।
गत महिनादेखि जारी घरदैलो अभियानसँगै सङ्गठन विस्तार अभियानलाई तीब्रता दिएकाले वैशाख पहिलो सातापछि मात्र उम्मेदवार छान्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्