वर्षौंदेखिको टुकी हट्यो, बिजुलीले गाउँ नै झलमल



पाल्पा : टुकीको भरमा रात बिताउने स्थानीय पहिलो पटक घरमा विद्युत् जडान गरी उज्यालोमा बस्न पाएपछि खुशी भएका छन् । 

वर्षौंदेखि टुकीको भरमा बस्न बाध्य बस्तीमा विद्युत् विस्तारसँगै उनीहरुको अँध्यारोमा रात बिताउनुपर्ने समस्या टरेको छ । तिनाउ गाउँपलिकाको ६७ लाख ७४ हजार आर्थिक सहयोग र नेपाल विद्युत् प्राधिकरण पाल्पाको प्राविधिक सहयोगमा तिनाउ गाउँपालिका–४ सत्यवतीस्थित बोङरी टोलमा विद्युत् विस्तार गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए ।  

उपभोक्ता समितिका अध्यक्ष तथा स्थानीयवासी अनिल कनौजेले नौ वर्षअघिदेखि गाउँमा विद्युत् ल्याउने सपना पूरा भएको बताए । विद्युत्को सुविधाले रेडियो, मोबाइल, टेलिभिजनको पहुँचमा सहज भएको छ । 

वर्षौंसम्म टुकीको भरमा बस्नुपरेको पीडालाई बिर्सेर गाउँमा विद्युत्को उज्यालोमा पढ्न पाउने भएपछि स्कुले बालबालिकादेखि वृद्ध तथा युवासमेत खुशी देखिएका छन् । 

विद्युत् विस्तारले बोङरी टोलमा १३७ घरधुरीमध्ये ६४ घरपरिवारमा विद्युत् जडान गरी बत्ती बालेका छन् । बस्ती नै उज्यालो बनेपछि स्थानीय बासिन्दा खुशी बनेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।  

महङ्गो मट्टितेल खरिद गरी टुकीका भरमा रात बिताउँदा स्थानीयवासीमा स्वास्थ्य समस्या हुँदै आएको थियो । विद्युत् विस्तारसँगै कुटानीपिसानी मिल, फर्निचर उद्योग, खाना पकाउन, साना उद्योग सञ्चालनमा सहज भएकोे उनीहरुको भनाइ छ । विद्युत् अभावका कारण सानातिना कामका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेपछि अहिले स्थानीयवासी खुशी भएका छन् । 

बोङरी टोलमा अधिकांश मगर समुदायको बसोेबास छ । तिनाउ गाउँपालिकाको दुर्गम मानिने सो टोलमा विद्युतीय सेवाकोे पहुँचले जनताको जीवनस्तर माथि उकास्न महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । 

नेपाल विद्युत् प्राधिकरण पाल्पाका प्रमुख रामु श्रेष्ठले जनताको निरन्तर प्रयासका कारण गाउँबस्ती उज्यालो बनेको बताए । 

प्रतिक्रिया दिनुहोस्