१ महिनामा १११ मिटर सुरुङ खनियो



काठमाडौं । राष्ट्रिय प्राथमिकताप्राप्त नागढुंगा सुरुङ मार्गको १ महिनामा १११ मिटर सुरुङ खनिएको छ । नागढुंगा सुरुङ मार्ग आयोजनाले जनाएअनुसार पछिल्लो १ महिनामा १११ मिटर सुरुङ खनिएको हो।

पूर्वपट्टि ५४ मिटर र पश्चिमपट्टि ५७ मिटर सुरुङ १ महिनाभित्र खनिसकेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । हालसम्म मुख्य सुरुङ मार्गको १ हजार १०६ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको उनले बताए । ‘सुरुङ खन्ने कार्य निरन्तर छ। पछिल्लो महिनासम्म आइपुग्दा १ हजार १०६ मिटर सुरुङ खनिसकेको अवस्था छ’, उनले भने । यसअघि ९९५ मिटर सुरुङ खनिएको थियो। १ महिनामा १ सय ११ मिटर खन्दा दैनिक ३ मिटरभन्दा बढी सुरुङ खन्ने कार्य भइरहेको आयोजनाले जानकारी दिएको छ।

राष्ट्रिय प्राथमिकताप्राप्त नागढुंगा सुरुङ मार्गको सुरुङ खन्ने कार्य ४८ प्रतिशत सकिएको आयोजनाले जनाएको छ। यसअघि ४६ प्रतिशत थियो। समग्रमा आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । भौतिक प्रगतिमा यस पटक २ प्रतिशतले बढेको हो। यसअघि समग्रमा ३३ प्रतिशत भौतिक प्रगति रहेको थियो । २ दशमलब ७ किलोमिटरको सुरुङ मार्ग सम्पन्न गर्न सुरुङको ठेक्का पाएको कम्पनीले १८ कात्तिक देखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गरिसकेको छ। तर, २ पटकको कोरोनाको लकडाउनका कारण ८६ दिन थप गरी निर्माण कम्पनीलाई परिचालन गरेको आयोजना प्रमुख शाक्यले बताए ।

‘देश कोरोनाको चपेटामा पर्‍यो । हाम्रो काम पनि त्यसले प्रभावित बन्यो, जसले गर्दा निर्माण कम्पनीलाई ८६ दिनको म्याद थप गरी परिचालन गरेका छौँ’, उनले भने । सुरुङ मार्गको निर्माणसँगै आयोजनाभित्र पहुँचमार्ग, पुल, कल्भर्ट, फ्लाई ओभर, अन्डरपास, सुरक्षा, दस्तुरलगायतका भवन जस्ता संरचना निर्माण गर्नुपर्छ । सडक मार्ग, ७ वटा पुल, २ वटा फ्लाई ओभर निर्माणको काम यस आयोजनाभित्र पर्छन् । काठमाडौंको तोतिपाखा हुँदै धादिङको सिस्ने खोलासम्म सुरुङ मार्ग निर्माण हुनेछ। त्यस्तै, अन्डरपास ३ मध्ये २ वटा बनाइसकेको छ। पुल ३ मध्ये २ वटा बनाइसकेको र फ्लाई ओभर एउटा बनाउनुपर्नेमा जग्गा प्राप्त नभएकाले त्यसमा प्रगति नदेखिएको आयोजना प्रमुख शाक्यले बता।

सुरुङ निर्माणको ठेक्का पाएको जापानी निर्माण कम्पनीले अहिले निरन्तर काम गरिरहेको आयोजनाको भनाइ छ। २३ जना जापानी, ५ जना फिलिपिनी र नेपाली गरी ५५० भन्दा बढी कामदार खटिएको आयोजनाले जनाएको छ । काठमाडौं उपत्यकाको मुख्य नाकाको रूपमा लिइने नागढुंगा नाकामा सवारी आवागमनलाई सहज पार्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको सुरुङमार्ग निर्माण भइरहेको छ। जापान सरकारको सहुलियत ऋण सहयोगमा बनिरहेको यस आयोजना निर्माणको ठेक्का जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पाेरेसनले पाएको छ।

प्रतिक्रिया दिनुहोस्