मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा मै रहन्छ : मन्त्री लामा



हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा नै रहने बताएका छन् । प्रतिष्ठान भरतपुर सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत र भ्रममात्रै भएको र हेटौंडाबाट नसर्ने उनले बताएका हुन् ।

उनले हेटौंडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकोले अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गरे । मकवानपुरका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसँग छलफल गर्दै प्रतिष्ठान हेटौंडाको गौरव भएकोले प्रतिष्ठान हेटौंडाबाट नसर्ने बताएका हुन् । प्रतिष्ठानलाई व्यवस्थित गर्न प्रदेश सरकारबाट २० करोड र संघीय सरकारबाट संरचनाका लागि ९५ करोड रुपैयाँ बजेट उपलब्ध भएको उनले बताए । उनले अघिल्लो सरकारले जग्गा समेत प्राप्ति नसकेको आरोप लगाउँदै काम अघि बढाउन समस्या भएकाले यसको यथाशीघ्र समाधान गरिने बताए ।

‘हेटौंडा अस्पतालको अहिलेकै संरचना र अवस्थामा मास्टर्स तहको अध्ययन गराउन नसकिने अवस्था भएकाले नजिकैको अस्पताल भरतपुरलाई अध्ययनका लागि मात्रै लिइएको हो,’ उनले भने, ‘स्नातक तहका ३ विषयको कक्षा हेटौंडामा नै सञ्चालन भइरहेको छ ।’ हेटौंडा अस्पताललाई बागमती प्रदेशकै नमूना अस्पताल बनाउने उनको दावी छ । उनले अफवाह र भ्रमको पछि नलाग्न आग्रह पनि गरे ।

सरोकारवालाको मागअनुसार हेटौंडा अस्पताललाई थप सशक्त बनाउन प्रतिष्ठानबाट अलग गरिएको उनको भनाइ छ । ‘प्रतिष्ठान अहिलेकै अवस्थामा भने चल्न नसक्ने भएकाले यसलाई प्रभावकारी ढंगबाट अघि बढाउन प्रतिष्ठानसम्बन्धी अध्यादेश ल्याएको हो,’ उनले भने, ‘प्रतिष्ठान स्थापनाकाल देखि ३ बर्षसम्ममा देखिएका समस्यालाई पनिअहिले समाधानको काम भइरहेको छ ।’

छलफलमा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, राप्रपा नेपाल मकवानपुरका गुरूप्रसाद सापकोटालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्