मेयरको धम्कीपछि उपमेयरले भनिन्, – ‘मलाई केही भए मेयरलाई समाउनू’



जनकपुरधाम : आफ्नै पार्टीबाट निर्वाचित मेयरसँग आतंकित हुन परेको धनुषा हंसपुर नगरपालिकाकी उपमेयरले बताएकी छन्। राजपाबाट निर्वाचित उपमेयर रेणु झाले मेयर रामज्ञान मण्डलले धम्की दिने गरेको सार्वजनिक रुपमै आरोप लगाएकी छन्।

उपमेयर झाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, –  ‘म अनुगमनमा जाँदा मलाई धम्की आउने गरेको छ। मलाई केही भए मेयरलाई समाउनू।’

गत आइतबार पाँच मिनेटको अन्तरालमा उपमेयर झाले फेसबुकमा दुई वटा पोस्ट गरेकी थिइन्। ती दुवै पोस्टमा आफूलाई धम्की आइरहेको उनले लेखेकी छन्। 

‘मलाई केही भए यो गुन्डा समाउनू। किनकी मलाई जतिबेला पनि धम्की दिइरहन्छ।’ मेयरले जनतान्त्रिक मोर्चाको लिडर पनि रहेको बताउँदै, आफू र आफ्नो परिवारलाई जेसुकै गर्ने धम्की दिएको उनले फेसबुकमार्फत लेखेकी छन्। 

पाँच मिनेटपछि गरिएको अर्को पोस्टमा झाले आफू अनुगमनमा जाँदा उनीसहित उनको परिवारलाई समेत मेयरले धम्की दिने गरेको लेखेकी छन्। उपमेयर झाले सार्वजनिक रुपमै लगाएको आरोपबारे बुझ्न पटकपटक सम्पर्क गरे पनि मेयर मण्डलको फोन भने उठेन।

हंसपुर नगरपालिकामा मेयर र उपमेयरबीच लामो समयदेखि विवाद चल्दै आइरहेको छ। यसअघि समेत मेयरले मनोमानी गर्न खोजेको भन्दै उपमेयर झा नगरपालिका कार्यालयमा आमरण अनशन बसेकी थिइन्।

यता लेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा गत आर्थिक वर्षमा मेयर मण्डलले आर्थिक कार्यविधि नियमावली २०६४ विपरीत खर्च गरेको उल्लेख छ।

गत आर्थिक वर्षको विभिन्न मिति गरी उनी करिब ३० दिन काठमाडौं बसेका छन्। काठमाडौं भ्रमणवापत ५ लाख ७७ हजार रुपैयाँ बिनाबिल भर्पाई बुझेको भन्दै लेखा परीक्षकको प्रतिवेदनमा रकम असुल गर्न भनिएको छ।

यसैगरी प्रक्रिया नै नपुर्याई उनले नगरपालिकाबाट भत्ता बुझेका छन्। १५ किलोमिटरभन्दा टाढाको दुरीमा मात्र दैनिक भत्ता पाउने व्यवस्था रहेपनि उनले त्यसभन्दा कम दुरीमा भत्ता बुझेको प्रतिवेदनमा उल्लेख छ।

उपमेयर झाले फेसबुकमा लेखेकाे स्टाटस 

प्रतिक्रिया दिनुहोस्