ओखलढुंगामा आगलागी, चार घर सखाप



 

ओखलढुंगा :   ओखलढुंगाको  मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगोमा परेर पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ ।

 

आगो नियन्त्रण गर्ने क्रममा एक जना घाइते भएका छन् । घाइते हुनेमा वाक्साका ६५ वर्षीय अमृतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीका दुवै हात सामान्य जलेका छन् ।

 

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको स्थानीय बासिन्दाले बताएका छन् । बच्चाले महुरीलाई आगो लगाउन खोज्दा घरबाट शुरु भएको बताइएको छ ।

 

आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैंसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र ९ ओटा बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जलेका छन् ।

 

मंगलबार विहान ११ः३० बजे शुरु भएको आगलागी अपराह्न ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी राजीव श्रेष्ठले बताए । घटनास्थल प्रहरी चौकीबाट १० किलोमिटर टाढा रहेकाले तत्काल प्रहरी पुग्न कठिन भएको थियो । स्थानीय र प्रहरी समेतको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

 

आगाेले एक करोड हाराहारीमा क्षति भएको अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्