रामायण सर्किट पूर्वाधार विकासमा प्रतिबद्ध छौं : मुख्यमन्त्री राउत



जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले रामायण सर्किट पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले आज जनकपुरमा आयोजना गरेको रामायण सर्किट पूर्वाधार विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै राउतले यस क्षेत्रको पर्यटकीय विकासमा कोसेढुंगा सावित हुने बतए।

सम्भावना बोकेको रामायण सर्किट पूर्वाधार विकासमा प्रदेश सरकार तत्पर रहेको पनि उनले उल्लेख गरे। रामायण सर्किट धार्मिक पर्यटकीय क्षेत्र मात्र नभई दुई देशबीचको सम्बन्धका साथै त्रेतायुगीन सम्भाव्यताको झझल्को समेत दिने भएकोले दुवै देशका केन्द्रीय सरकारलाई अग्रसर हुन आग्रह गरे।

नेपाल र भारतको सम्बन्ध राजनीतिक मात्र नभई पौराणिक कालदेखि चल्दै आएको र जनजनको सम्बन्ध रहेको चर्चा गर्दै उनले यसमा राजनीति सीमाले छेक्ने काम कहीँ कतैबाट नहुने बताए।

करौडौं हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरका साथै यस क्षेत्रको विकासमा केन्द्र सरकारले अझै ध्यान दिन नसकेको गुनासो गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले आफनो बुताले भ्याएसम्म जानकी मन्दिरलाई विश्वमा चिनाउने कार्यलाई अघि बढाए बताए।

कार्यक्रममा विशिष्ट अतिथि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायले जनकपुर क्षेत्रको विकासका साथै धनुषाधामको विकासमा भारत सरकारलाई सहयोग गर्न आग्रह गरे। कार्यक्रममा भारत सरकारको पूर्व मन्त्री डा। संजय पासवानले मिथिला क्षेत्रको विकासमा रामायण सर्किटको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नु भयो ।

कार्यक्रममा रामायण सर्किटका अध्यक्ष डा रामवतार शर्मा, प्रदेशसभा सदस्य रामआशीष यादव, साधवी हेमलतासहित वक्ताहरुले नेपाल भारतका साथै मिथिला र अवधका सम्बन्धबारे विस्तृतमा व्याख्या गरेका थिए।

के हो रामायण सर्किट ?

नेपाल र भारतबीच त्रेतायुगकालीन सम्बन्धलाई जीवन्त दिन भारतले नेपाल र श्रीलंका समेतलाई जोड्ने गरी रामायण परिपथ निर्माण गर्ने योजनाअनुरुप रामायण सर्किटको योजना बनाएको हो। त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिकस्थललाई एउटै मार्गले जोड्न रामायण सर्किटको अवधारणा ल्याइएको हो।

जसअनुसार यसअघि नै जनकपुर–अयोध्या बस सेवा सञ्चालन भएको छ। भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ वटा धार्मिक स्थललाई जोड्ने संकल्पसहित तयार पारेको ‘रामायण सर्किट’ अवधारणामा जनकपुर पनि समेटिएको छ।

रामले स्वयंवरका लागि जनकपुर आउँदा र विवाहपछि सीतासहित अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थलको विकासमा महत्त्वपूर्ण मानिएको यो सर्किटलाई विशेष महत्व दिइएको छ। भारतीय प्रधानमन्त्री मोदीको सन् २०१४ मा भएको नेपाल भ्रमणमा जनकपुर र अयोध्यालाई जोड्न ‘ट्विन सिटी एग्रिमेन्ट’ भएको थियो।

भारतले सोही एग्रिमेन्टलाई ‘रामायण सर्किट’ अन्तर्गत विस्तार गर्न खोजेको हो। रामायण सर्किटअन्तर्गत मिथिला र अवधको सम्बन्धलाई विश्वव्यापी बनाउन खोजिएको हो । रामायण सर्किटअन्तर्गत नेपाल र भारतका धार्मिक रुटमा विकासका पूर्वाधार निर्माण गरिने छ।

भारतले उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर र चित्रकुट, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरी, छत्तीसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई अयोध्या सर्किटमा जोड्दै छ।

अन्तर्राष्ट्रिय पर्यटक तान्ने उद्देश्यले भारतले सन् २०१४ र १५ को बजेटमै रामायण सर्किटको अवधारणा प्रस्ताव गरेको थियो। यो सर्किटमार्फत भारत, नेपाल र श्रीलंकाका धार्मिकस्थल जोड्ने भारतको योजना छ। यसमा श्रीलंकाले पनि चासो देखाएको छ।

रामायण सर्किट योजनाअन्तर्गत रामायणकालीन स्थलमा कृषि, औद्योगिकीकरण, सडक, शिक्षा र पर्यटन पूर्वाधार पनि तयार पारिनेछ। सर्किटले नेपाल, भारत र श्रीलंकाका रामायणकालीन स्थललाई जोड्नेछ। ‘राम र सीताको चरण जहाँ–जहाँ पुगेको छ, त्यो सबै क्षेत्रलाई समेट्ने र त्यो रूटमा पूर्वाधार विकास गर्नु नै रामायण सर्किटको लक्ष्य हो।

भारत सरकारले आफ्ना कर्मचारीका लागि ल्याएको घुमफिर योजना ‘लिभ ट्राभल कन्सेसन (एलटीसी) मा पनि नेपाललाई समावेश गरेको छ। रामायण सर्किट निर्माणपछि भारतको केन्द्रीय सरकारका करिब ६ लाख कर्मचारी एलटीसीअन्तर्गत नेपाल भ्रमणमा आउने अनुमान गरिएको छ।

रामायण सर्किटले हाललाई नेपाल र भारतको धार्मिकस्थललाई जोडे पनि श्रीलंका सरकार पनि ‘ग्रेटर रामायण सर्किट’ को पक्षमा छ। यसअघि नै जनकपुर आएकी नेपालका लागि श्रीलंकाली राजदूत डब्लूएस परेराले राम र सीताको सम्बन्ध श्रीलंकासँग पनि भएकाले नेपाल, भारत र श्रीलंकालाई समेटेर ग्रेटर रामायण सर्किट बनाउन प्रस्ताव गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्