को बन्ला नेपाल प्रहरीको २९औं आईजीपी ?



काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको कार्यकाल सकिन २४ दिन मात्रै बाँकी छ । १८ वैशाख, २०७९ मा ३० वर्षे सेवा अवधिका कारण आईजीपी क्षेत्रीले प्रहरी सेवाबाट अनिवार्य अवकाश पाउँदै छन् । क्षेत्री निवृत्त भएसँगै नेपाल प्रहरीले आगामी १९ वैशाखमा २९औँ आईजीपी पाउँदै छ ।

आईजीपी क्षेत्रीसँगै एआईजीहरु हरि पाल, प्रद्युम्न कार्की र निरज शाही पनि अवकाशमा जाँदै छन् । त्यसैले क्षेत्रीपछि नेतृत्वको दाबेदारमा नयाँ एआईजीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अबको आईजीपीका लागि एआईजीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुकबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। सबैले आफूलाई आईजीपीका प्रमुख दाबेदारका रूपमा नै प्रस्तुत गर्न थालेका छन् । उनीहरु चारैजना एउटै ब्याची हुन् ।

चुनावको मुखमा नयाँ आईजीपी को बन्ला भन्ने यतिबेला सर्वत्र चासोको विषय बनेको छ । नयाँ आईजीपीले नै स्थानीय तहको निर्वाचन सुरक्षा कमाण्ड सम्हाल्ने भएकाले पनि अब बन्ने आईजीपीमाथि सबैको ध्यान केन्द्रित छ ।
कसको पल्ला भारी ?
आईजीपी बन्न सबै प्रतिस्पर्धीबीच कडा दौडधुप सुरु भएको छ । प्रहरी मुख्यालय स्रोतका अनुसार चारै जनाले आ–आफ्नो ठाउँबाट ‘लबिइङ’ गर्न सुरु गरिसकेका छन् । अहिले भएका एआईजीमध्ये वरीयतामा एआईजी पोखरेल अगाडि छन् । पोखरेलपछि थापा, सिंह र धानुक छन् ।

पोखरेललाई तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संगठन व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) नगरी एकल प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआईजी बनाइएको थियो। त्यसपछि कार्यसम्पादनमा उत्कृष्ट रहेको ठहर गर्दै ओलीकै कार्यकालमा थापा एआईजीमा बढुवा भएका थिए । एआईजी पोखरेलपछि करिब ७ महिनाको फरकमा थापालाई एआईजी बनाइयो । यद्यपि, दुवै जनाको एआईजी बढुवा सिफारिस हुँदा नयाँ ओएन्डएम नभईकन दरबन्दी थपिएको थियो ।

जब कि सुरक्षा संगठनमा दरबन्दी बढाउने वा घटाउने विषयमा ओएन्डएम हुनुपर्ने कानुनी मान्यता प्रावधान छ। त्यसै गरी सिंह, धानुक र वसन्त पन्तलाई एक महिनाअघि देउवा सरकारले नयाँ दरबन्दी सिर्जना गरेर डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो। एआईजी पन्तबाहेक यी चारैजना २९ चैत २०४९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बनेका थिए । पोखरेल सबैभन्दा अघि एआईजीमा बढुवा भएका हुन् । त्यसपछि थापा छन्। गत ५ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको ३ वटा दरबन्दी थप्ने निर्णय गरेको थियो। जसमा गृहमन्त्रालयले ३ जना डीआईजीहरु पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।

सरकारले चाहेको व्यक्तिलाई आईजीपीमा ल्याउन पाउने भएकाले भावी आईजीपीका लागि ४ जना दाबेदार बन्न पुगेका छन् । सिंह र धानुक एआईजीमा बढुवा भएसँगै आईजीपी बन्न चारै जनाबीच प्रतिस्पर्धा बढेको हो । एआईजी पन्त चाँडै अनिवार्य अवकाशमा जाने भएकाले उनी आईजीपीको दौडमा नरहेको प्रहरी स्रोत बताउँछ । नेपालमा प्रहरीमा अहिले एआईजीको संख्या ८ पुगेको छ।
प्राथमिकतामा सक्षम र योग्य
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भन्दा पनि योग्य र सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउन निर्देशन दिएको स्रोतले जनाएको छ। अघिल्लो पटक देउवा नेतृत्वको सरकारले आईजीपी नियुक्तिमा चलखेल गरेको भन्दै सर्वत्र आलोचना भएको थियो।

त्यही कारण निर्वाचनमा मुखमा आएर पुनः त्यस्तो गल्ती नदोहोरियोस् भनेर सक्षम व्यक्तिलाई आईजीपी बनाउन निर्देशनसमेत दिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्