विश्वकप क्रिकेट : भारतलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा



काठमाडौं : न्युजिल्याण्ड १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। इङ्ल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत बुधबार (आज) भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दाबेदार भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा पुगेको हो।

२०१५ को विश्वकपमा पनि फाइनलमा पुगेको न्युजिल्याण्ड अष्ट्रेलियासँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड रंगशालामा न्युजिल्याण्डले दिएको २ सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारत ४९.३ ओभरमा अलआउट हुँदै २ सय २१ रनमा समेटियो। भारतका लागि रबिन्द्र जडेजा र महेन्द्रसिंह धोनीले अर्धशतकीय इनिङ खेले पनि टोलीलाई फाइनलमा लान सकेनन्।

सातौं विकेटका लागि धोनी र जडेजाले १ सय १६ रनको साझेदारी गर्दै जितको सम्भावना कायमै राखे पनि ४८.५ ओभरमा रविन्द्र जडेजा ७७ रनमा क्याच आउट भएपछि भारतलाई ठूलो धक्का लागेको थियो। जडेजाले ५९ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरेका थिए।

धोनी ७२ बलमा १ चौका र १ छक्का सहित ५० रनमा आउट भएपछि भारतको फाइनलमा पुग्ने आश सकिएको थियो। त्यस्तै रिषब पन्त र हार्दिक पाण्ड्याले समान ३२, ३२ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। 

चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको भारतले तल्लोक्रममा राम्रो ब्याटिङ गरे पनि निकाल्न सकेन। कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएपछि भारत संकटमा परेको थियो।

न्युजिल्याण्डक लागि म्याट हेनरीले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिए। त्यस्तै ट्रेन्ट बोल्ट र मिचेल सान्टनारले समान २–२ तथा जेम्स निशम  र लोकी फर्गुसनले १–१ विकेट लिए।

यसअघि मंगलबार म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्याण्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो। आज त्यहिस्थितीबाट खेल सुरु गरेको न्युजिल्याण्डले पूरै ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन बनाएको थियो। 

न्युजिल्याण्डका लागि रोस टेलर र कप्तान केन विलियम्सनले अर्धशतकीय इनिङ खेले। ९० बल खेलेका टेलरले ३ चौंका र १ छक्कासहित ७४ रन बनाउँदा विलियम्सनले ९५ बलमा ६ चौंका प्रहार गरे। त्यस्तै हेनरी निकोल्स २८, कोलिन डी ग्रान्डहोम १६, जेम्स निशम १२ र टोम लाथम १० रन बनाएर आउट भए। न्युजिल्याण्डका ४ खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

भारतका लागि भुवनेश्वर कुमारले १० ओभर बलिङ गर्दै १ मेडन राखेर ४३ रन खर्चिदै सर्वाधिक ३ विकेट लिए। त्यस्तै जस्प्रित बुमराह, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा र युजभेन्द्र चहालले समान १–१ विकेट लिए।

न्युजिल्याण्डले अब उपाधिका लागि १४ जुलाईमा अष्ट्रेलिया र इङ्ल्याण्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्