निर्वाचन सार्ने एन्फाको रणनीति



काठमाडौं । निर्वाचनको अंक गणित आफ्नो पक्षमा नआउने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचन नगर्ने रणनीतिमा जुटेको छ। २२ वैशाख २०७५ मा निर्वाचित भएर आएका एन्फा कार्यसमितिको पदावधि आगामी २२ वैशाखमा सकिँदै छ।

एन्फाले नयाँ कार्यसमिति चयनका लागि आगामी १५ जेठको मिति तय गरे पनि यसअघि नै यो मितिलाई सारेर ६ असारमा पुर्‍याइ सकिएको छ। सो मितिमा गर्ने भनिएको साधारण सभामा आफ्नो पक्षमा बहुमत जुट्ने अवस्था नदेखेपछि एन्फा अध्यक्ष कर्म छिरिङ शेर्पा सहित वर्तमान कार्यसमितिका केही पदाधिकारी निर्वाचन सार्ने रणनीतिमा जुटेको हो । निर्वाचन धकेल्ने उद्देश्यसहित एन्फा नेतृत्वले जिल्ला संघ र क्लबलाई प्रतिनिधि छनौट गर्न अवरोध गरिरहेका छन् ।

२२ वैशाखदेखि पदावधि सकिएका अखिल नेपाल फुटबल संघको निर्वाचन प्रतिनिधि चयन गर्न काठमाडौँ जिल्ला फुटबल संघको १५ फागुनका लागि तय भएको साधारण सभालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले १० फागुनका दिन रोक्न निर्देशन दियो। एन्फा निर्वाचनकै लागि गत २४ चैतमा बी डिभिजन र सी डिभिजनको प्रतिनिधि चयन गर्ने तालिका पनि रोकियो। निर्वाचनका लागि फुटबल संघको कार्यालयमा क्लबहरू भेला हुँदै गर्दा अध्यक्ष कर्मा छिरिङ शेर्पा सो दिन अर्थात २४ चैतमा कार्यकक्षबाट बाहिरै निस्केनन् ।

कार्यकक्षमा २ जना कानुन व्यवसायीका साथ बसेका उनले निर्वाचन अधिकृत र एन्फा महासचिवसँग निरन्तर सम्पर्क गरेका थिए । शेर्पासँग सम्पर्कमा रहेका महासचिव इन्द्रमान तुलाधरले निर्वाचन समितिका संयोजक श्रीराम दवाडीलाई त्यस दिन प्रक्रिया स्थगित गर्न निर्देशन दिएका थिए । त्यत्ति मात्र होइन १५ जेठमा घोषित साधारण सभाको मितिलाई अध्यक्ष शेर्पाले ६ असारका लागि सार्ने क्रममा विश्व फुटबल महासंघ( फिफा)को हवाला दिएका थिए । तर, उनले फिफाको पत्र सार्वजनिक गरेका छैनन् । नेपाली फुटबलका जानिफकार भन्छन्,‘ विभिन्न कारण फुटबल संघको समीकरणमा कर्माको अवस्था कमजोर छ । यसकारण उनी विभिन्न बहाना बनाउँदै निर्वाचन सार्न उद्यत छन् ।

’गत शुक्रवार घोषित बी र सी डिभिजन क्लबको प्रतिनिधि चयन गर्नका लागि एन्फामा बिहान ११ बजे पुगी सकेका थिए । यसै प्रायोजनका लागि संयोजक दवाडी सहित निर्वाचन समितिका सबै अधिकारी एन्फा परिसर सोतदोबाटो पुगेका थिए । ११ बजे सी डिभिजन तथा १ बजे बी डिभिजनको प्रतिनिधि चयन कार्यक्रम निश्चित थियो । बी डिभिजनबाट ११ तथा सी डिभिजनबाट नौ जना एन्फा साधारण सभाका लागि छनोट हुने प्रावधान छ । सोही समयमा एन्फा कार्य समितिमा रहेका बी र सी डिभिजनका प्रतिनिधि त्यस दिनको प्रतिनिधि चयनमा सहभागी हुन पाउने या नपाउने भन्ने विषयमा विवाद सृजना भएको थियो । क्षितिज पराजुली, रुपेस अधिकारी, रवीन्द्र जोशी र दावा लामाको नाममा यो विवाद भएको थियो । एन्फा सचिवालय र निर्वाचन समिति बिच यी चार जनालाई क्लब निर्वाचनमा सहभागी हुन दिइने सहमति भए पछि बेलुका साढे ६ बजेको समयमा निर्वाचन गर्ने तय भएको थियो ।

एन्फा केन्द्रीय कार्य समिति बैठक र विशेष साधारण सभाले १५ जेठका लागि साधारण सभाको मिति तय गरे पनि अध्यक्ष शेर्पाले यो मितिमा परिवर्तन गर्दै ६ असारमा निर्वाचन गर्ने गरी मिति सार्नुले उनको नियतमा अझ बढी शंका उत्पन्न भएको हो । एक फुटबल अधिकारी भन्छन्,‘ साधारण सभाको गणित अध्यक्ष शेर्पाको विरुद्धमा गएपछि उनको चाहना निर्वाचन रोक्ने हो। ’धेरै फुटबल अधिकारी चार वर्ष अगाडीको घटना समेत स्मरण गर्न थालेका छन् । चार वर्ष अघि केही दिनका लागि निर्वाचन धकेलिँदा हालका अध्यक्ष कर्माले धर्ना बस्ने देखि विश्व फुटबल महासंघले नेपालमाथि प्रतिबन्ध लगाउने चेतावनी समेत दिएका थिए ।

एन्फा उपाध्यक्ष वीर बहादुर खड्का भन्छन्,‘ चार वर्ष अघि नरेन्द्र श्रेष्ठको कार्यकालमा केही दिन ढिला हुँदा हालका अध्यक्ष शेर्पाले धर्ना नै दिनु भयो । अहिले उहाँ समयमै निर्वाचन गर्न चाहनु हुन्न । कर्माकै कारण नेपाली फुटबल गम्भीर दुर्घटना निम्तिन पनि सक्छ । ’ महासचिव तुलाधर त्यस दिन सहमति भएर कार्य तालीका प्रकाशित भएको कुरा आफ्नो जानकारी भन्दा बाहिर भएको बताउँछन् ।

निर्वाचन समितिका सदस्य सचिव दामोदर भट्टराई ‘बद्री’ भने आइतबार एन्फा सचिवालय, निर्वाचन समिति र अपिल कमिटीको बैठकबाट बी या सी डिभिजन क्लबको विवाद समाधानको बाटोमा गएको बताउँछन् । उनी भन्छन्,‘ ५ वैशाख भित्र बी र सी डिभिजन क्लबका प्रतिनिधि चयन भई सक्ने छन् । ’

प्रतिक्रिया दिनुहोस्