कहालिलाग्दो तथ्यांक, आफन्तबाटै सुरक्षित छैनन् महिला 



काठमाडौं : पछिल्लो समय प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा बालिका बलात्कारका घटना बढ्न थालेका छन्।  

दिनहुँजसो बलात्कार र हत्याका घटना हुन थालेपछि स्थानीय, प्रहरी प्रशासन र आम सर्वसाधारणमा त्रास फैलन थालेको छ। 

केही दिनअघि धनुषा सबैला नगरपालिका १ की १४ वर्षीया पिंकीकुमारी यादवले ज्यान गुमाइन्। उनको मृत्यु अझै शंकास्पदै छ। सामबार राति शव घरमै झुण्डिएको अवस्थामा फेला परेको थियो । आफन्तहरुले लुकीछिपी लास जलाउन खोजेपछि प्रहरीले शव जलाउनबाट रोकेका थिए। स्थानीय सत्रुधन यादवकी छोरीको उनको मृत्युबारे धनुषा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। 

प्रहरीले घटना शंकास्पद भएको र घटनाबारे आफूहरुलाई जानकारी नगराएको भन्दै प्रहरीले जल्दै गरेको लास चिताबाट निकालेको थियो । त्यस्तै धनुषाकै सबैला ८ ठिल्लामा पनि मंगलबार राति १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भयो। आरोपमा प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ। मंगलबार राति घरमै सुतिरहेकी बालिकालाई घरको ढोका खोलेर घरभन्दा ५ सय मिटर पर गढीगाछी भन्ने स्थानमा लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको थियो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही गाउँका ३७ वर्षीय मनिवुल राइन र ३० वर्षीय मदिक राइनलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

त्यस्तै आफूसँग सल्लाह नगरी भैंसी बेचेको निहुँमा धारिलो हतियार प्रयोग गरी पर्सामा एक युवकले आफ्नै आमाको हत्या गरेका छन्। वीरगन्ज महानगरपालिका २४ रामगढवा नयाँ बस्तीका २० बर्से गुड्डु यादवले ४० वर्षीया आमा शोभादेवीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीसँगको बयानमा भनेका छन्। 

एकपछि अर्को गर्दै श्रृखंलाबद्ध तरिकाले बलात्कारका घटना बढेका छन्। त्यसमा पनि बालिका, असहाय, गरिबीले थलिएका बढी परेका छन्। स्कुलबाट फर्कंदै गर्दा, घरमै सुतिरहेको अवस्थामा, ललाईफकाई आदि विभिन्न कारणले बालिकामाथि यौन हिंसा भइहरेको प्रहरीको भनाइले पुष्टि गरेको छ। 

यतिबेला अन्य प्रदेशझैं प्रदेश २ पनि कानुन निर्माणमा व्यस्त छ।

यौनजन्य मात्र नभई पछिल्लो समय प्रदेश २ मा अनेकखाले घरेलु हिंसामा बालिका र महिला पर्दै आएका छन्। दिनहुँ ठूलै अपाराधका घटनाले सञ्चारमाध्यममा प्रवेश पाएका छन्। 

अपराध न्यूनीकरण र महिलामाथि हुने हिंसा रोक्न प्रदेश सरकार किन असमर्थ छ ? छुट्टै कानुन बनाउन तत्पर प्रदेश सरकारले बलात्कारजन्य अपराध र बढ्दो हत्या, हिंसा रोक्न कस्तो कानुन बनाउला ? यो गम्भीर विषय हो। 

प्रदेश २ मा गत वर्ष असारदेखि चैतसम्मका घटना हेर्दा निकै कहालिलाग्दो तथ्यांक छ। प्रहरीबाट प्राप्त तथ्यांकअनुसार कर्तव्यज्यानअन्तर्गतको मुद्दामा कुटपिटबाट १७, घाँटी थिची ८, पोस्टमार्टम नगरी मृतकको लास दबाएको १, घाँटी रेटी १, विष खुवाएर २, झुण्ड्याएर २, पुलमा ठोक्काएर १, एसिड प्रहारबाट १, रिस आवेगमा ३, धारिलो हतियार प्रयोग गरी ३, जलाएर २, इँट्टा प्रहार गरी १ जना गरी जम्मा ९४ जनाको हत्या भएको छ। जसमा ५३ जना महिला र ४१ जना बालिका छन्। 

त्यस्तै तथ्यांकअनुसार पानीमा हामफालेर १, पोखरीमा डुबी १, जंगली हात्तीले कुल्चेर १, घाँटी थिची १, बेवारिसे २ गरी जम्मा ६ जनाको मृत्यु भएको छ। 

यस आर्थिक वर्षमा मात्रै १ सय ४८ जना महिला तथा ४४ जना बालिका गरी १ सय ९२ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। त्यस्तै ७७ जना महिला, २० जना बालिका गरी ९७ जनाले विष सेवन गरी आत्महत्या गरेका छन् भने ८ जनाले आत्मदाह गरेका छन्।

ज्यानसम्बन्धी, कतव्र्य ज्यान, आत्महत्या, जबरजस्ती गरी कर्तव्यज्यानका ५ सय १७ वटा मुद्दा दर्ता भएका छन्। जसमा ४ सय जना महिला र १ सय ४० जना बालिका पीडित भएको रेकर्ड छ। यी मध्ये ५ सय ४० जनाले ज्यान गुमाएका छन्। 

त्यस्तै प्रदेश २ मा मात्रै १६ महिला र ९६ जना बालिकामाथि जबरजस्ती करणी भएको २ सय १२ वटा मुद्दा दर्ता भएको छ। 

जबरजस्ती करणीको प्रयास भएको आधारमा ९३ वटा मुद्दा दर्ता भएका छन्। जसमा ५६ महिला तथा ३७ जना बालिका छन् । त्यस्तै बोक्सी आरोपमा १७ वटा मुद्दा दर्ता भएका छन्। प्रदेश २ मा मात्र  १७ जना महिलालाई बोक्सी आरोपमा हिंसा सहन बाध्य पारिएको तथ्यांकले देखाउँछ। 

आफ्नै परिवारबाट हिंसामा ३ हजार १ सय ५ वटा उजुरी प्रहरीसमक्ष परेको छ। जसमध्ये मिलापत्र भई १ हजार २ सय ८७ वटा उजुरी फछ्र्योट भइसकेका छन्। भने १ हजार ८ सय ९ उजुरी फछ्र्योट हुन बाँकी छन्।

सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्