राउत नेतृत्वको प्रदेश सरकार नालायक र भ्रष्टाचारमा लिप्त भएको पूर्वमन्त्रीको आरोप



जनकपुरधाम : लालबाबु नेतृत्वको प्रदेश २ सरकारको काम र कर्तव्यमाथि प्रश्न उठाउँदै पूर्वखानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्। 

जनकपुरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकारको काम कर्तव्यमाथि प्रश्न चिह्न लागेको उनले आरोप लगाए। भने, ‘राउत नेतृत्वको सरकार भिजनलेस भयो।’

कुम्भकर्णजस्तै निद्रामा सुतेको यो सरकार एकपछि अर्को जनचाहनाविपरीत काम गर्दै गइरहेको यादवको आरोप थियो। यो सरकारले प्रदेश २ का जनताको भावनासँग खेलवाड गरेको पनि यादवले पत्रकार सम्मेलनमार्फत आरोप लगाए। 

नेपाल प्रेस युनियन धनुषाको आयोजनामा जनकपुरको सीता प्यालेसमा सञ्चारकर्मीसँग उनले भने, ‘यो निकम्मा र भिजनलेस सरकारले ११ महिनामा शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधारलगायत कुनै क्षेत्रमा ठोस काम गर्न सकेको छैन।’

११ महिनामा जम्मा १३ प्रतिशत रकम खर्च गरेको सरकारले २३ दिनमा मात्र कसरी ४ अर्ब बढी रकम खर्च ग¥यो भन्ने प्रश्न गर्दै यादवले भने, ‘अज्ञानी सरकारले अहिले लुट मच्चाएको छ। यो सरकारले गरेको भ्रष्टाचारको विषयमा अख्तियारबाट छानबिन हुनुपर्छ।’

प्रदेश २ सरकारप्रति निक्कै कडा रूपमा प्रस्तुत भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका यादवले थपे, ‘यो सरकार जनताको सरकार नै हैनजस्तो लागेको छ। यो स्वेच्छाचारी सरकारको कारण कारण आज सिंगो मुलुकमा प्रदेश २ को भ्रष्टाचारीको रुपमा खिसि उडेको छ।’

झन् झन् कडा बनेका पूर्वमन्त्रीले भने, ‘राउत नेतृत्वको सरकार पहिलाको जिल्ला विकास समिति जस्तै भयो। यो सरकारले विकास निर्माणमा कानुनविपरीत उपभोक्ता समिति बनाएर कार्यकर्तालाई पाल्ने मात्र काम गरेको छ।’

एउटा पनि ठोस काम गर्न न सकेको सरकारका अज्ञानी मन्त्रीहरुले नातागोता, परिवार र कार्यकर्तामार्फत गुणस्तरहीन काम गराएर जगहसाइँ गरिरहेको भन्दै मन्त्रीहरूविरुद्ध पनि उर्लिएका थिए। 

उनी थप्दै गए, ‘यो सरकारले भैंसी वितरणमा समेत घोटाला गरेको छ। समाचारहरुको हवाला दिँदै उनले ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा समेत करोडौंको घोटाला आरोप लगाए। राउत नेतृत्वको सरकारले संसदीय समिति र छानबिन टोलीको अपमानसमेत गरेको उनको आरोप थियो। 

प्रदेशसभा भवनको मर्मत र प्रदेश सरकार गठनपश्चात् भएको सामग्री खरिद र रंगरोगनमा भएको चलखेलबारे गठित छानबिनन समितिको प्रतिवेदन आइसकेको र व्यापक भ्रष्टाचार भएको सदनमै प्रस्ट भइसकदा पनि भ्रष्टाचारीलाई कारवाही नगरेको प्रति उनले दुख व्यक्त गरे। सरकारले गलत तत्वलाई बचाउन अर्को छानविन टोली गठन गरेको यादवको दाबी थियो। 

उनले भने, ‘मोटो रकम लिएर भ्रष्टाचारीलाई यो सरकारले बचाउन खोजेको छ,’ उनले तर्क गरे, ‘लोकतन्त्रमा सदन र संसदीय छानबिन समितिभन्दा ठूलो कुनै समिति हुन्छ र ?’

भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले होडिङ्ग बोर्डमा समेत कमिसन खाएर काम गरेको आरोप उनले लगाएका छन्। 

सरकारको काम गराइको पाराले गर्दा केन्द्र सरकारले दिएको बजेटसमेत फिर्ता जाने ठोकुवा गर्दै उनले सञ्चारकर्मीलाई प्रदेशभित्र भइरहेको भ्रष्टाचारबारे खुलेर लखनु आग्रह गरे। 

भ्रष्टाचारमा आफ्नै पार्टी कांग्रेसका नेता कार्यकर्ता सहभागी छन् भने पनि उनीहरुमाथि कारवाही गर्नुपर्ने उनले जिकिर गरे। भ्रष्टाचार गर्न प्रदेश सरकारभित्रका मन्त्रीबीच तिस्पर्धा भएको समेत यादवले आरोप लगाए। 

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनुषा जिल्ला अध्यक्ष महेश शंकर गिरी, नगरअध्यक्ष मनोज साह, क्षीरेस्वर नगरपालिकाका मेयर योगेन्द्र पँजियार, कांग्रेस नेता प्रफुल्ल घिमिरे र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको समेत उपस्थिति थियो। 

प्रतिक्रिया दिनुहोस्