भगवानकाे लागि छुट्याइएकाे पैसामा पनि मन्त्रालयद्वारा भ्रष्टाचार



जनकपुरधाम : भ्रष्टाचारमा लिप्त भनी चौतर्फी आलोचना भइरहेको प्रदेश २ सरकारका मन्त्रालयहरुले भगवानको जन्मोत्सव मनाउन छुट्याइएको पैसामा समेत अनियमितता गरेको खुलासा भएको छ। 

प्राप्त जानकारीअनुसार प्रदेशका राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा मनाइने जानकी नवमी (माता सीताको जन्मोत्सव) का लागि प्रदेश सरकारले १० लाख रुपैयाँ दिने घोषणा भए पनि प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७ लाख रुपैयाँ मात्र भुक्तानी गरेको छ। 

मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताएअनुसार जानकी नवमी महोत्सवका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ दिने घोषणा गरेको थियो। तर भुक्तानी लिन जाँदा ७ लाख रुपैयाको चेक मात्र दिएको छ। 

तीन लाख रुपैयाँ किन दिएन भन्ने द नेपाल टपको जिज्ञासामा महन्थ दासले भने, ‘पर्यटन मन्त्रालयले १ लाख २० हजार रुपैयाँ करकट्टि गरेको बतायो। बाँकी करिब २ लाख रुपैयाँ मन्त्रालयले पानी र फ्रुटीमा खर्चेकाे भन्ने जवाफ दियाे।’

 

उनले थपे, ‘कर काट्ने प्रक्रिया होला, तर महोत्सवको नाममा मन्दिरसँग कुनै जानकारी नै नदिई मनपरी रुपमा रकम कुम्ल्याएर फ्रुटी र पानीमा खर्च भयो भन्नु के भ्रष्टाचार होइन र? 

प्रत्येक वर्ष जानकी मन्दिरमा मनाइने जानकी महोत्सवका लागि प्रदेश सरकारका क्याबिनेटबाटै प्रत्येक वर्ष १० लाख रुपैयाँ दिने भनी निर्णय भएको थियो। सोही निर्णयको आधारमा चालु आर्थिक वर्षमा महोत्सवका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो। 

धर्म र आस्थाका नाउँमा आएको बजेट रकममा समेत भ्रष्टाचार गरिएकोले आफूले अहिलेसम्म चेकसमेत नबुझेको उनले दुखेसो पोखे। उनले करिब एक महिनाअघि नै खर्च हिसाब बुझाइसकेपछि ७ लाख रुपैयाँ मात्र दिने भन्दै आएकोमा विवाद हुँदै आएको थियो। अन्ततः ७ लाख नै दिने मन्त्रालयको अडानले निकै मर्माहित भएको उनले दुखेसो पोखे।

 

मन्त्रालयका सचिव रामबाबु जयसवालले प्रदेश सरकारले जानकी नवमीका लागि दस लाख छुटयाएको स्विकार गरे। भने बजेट रकमबाट मन्त्रालयले समेत महोत्सवका लागि पानी र फ्रुटीमा रकम खर्च गरेको र १३ प्रतिशत कर कटा गरी बाँकी ७ लाख रुपैया भुक्तानी गरेको हो।

यता पर्यटन राज्यमन्त्री सुरेश मण्डलले प्रदेश सरकारले गरेको खर्च रकमलाई अन्य शीर्षकबाट मिलाउन सकिए पनि नमिलाइएकोले तोकिएको रकममा तलमाथि भएको बताए।

प्रतिक्रिया दिनुहोस्