स्थानीयको गुनासो : कालोपत्रे गर्न आन्दोलन नै गर्नुपर्ने रहेछ



काठमाडौं : ‘धुलो धूवाँ धेरै भो, श्वास फेर्न गाह्रो भो’, ‘कालोपत्रे छिटो गर’, ‘ठेकदारलाई कारवाही गर’, जस्ता नारा काठमाडौं उपत्यकाका सडकमा बेलाबेलामा घन्किरहन्छन्। यो नारा एक पटक घन्किएर मात्र सम्बन्धित निकायको कानसम्म पुग्दैन। पुगे पनि एउटा कानले सुनिन्छ अर्कोले उडाइन्छ। त्यसैले त पटक पटक घन्काइन आवश्यक देखिन्छ।

यस्तै आवश्यकता चाबहिल–जोरपाटी सडकखण्डमा पनि भयो। पटक पटकको आन्दोलन र सम्झौतापश्चात् बल्ल कालो पत्रे गर्ने काम सुरु भयो। तर, बौद्ध क्षेत्र (६ नम्बर वडा) को १००÷१५० मिटरसम्मको सडकखण्डमा। किनकि त्यहाँका स्थानीय मात्र आन्दोलनमा उत्रिएका थिए। पछिल्लो समय उपत्यकाका अधिकांश सडक निर्माणका लागि आन्दोलन नै गर्नुपर्ने प्रवृत्तिको विकास भएको देखिन्छ।

सडक निर्माणको काममा सरकार र ठेकेदारको ढिलासुस्ती र बेवास्तापछि विभिन्न ठाउँमा सर्वसाधारण चक्काजामसहित आन्दोलनमै उत्रन थालेका छन्। आन्दोलनपछि मात्र सडक निर्माणले गति लिने गरेको हामीकहाँ धेरै उदाहण छन्।

जस्तै बौद्ध–जोरपाटी सडकखण्ड, चापागाउँदेखि ठेचो सडक, कलंकी–थानकोट सडक, काठमाडौं रविभवनलगायत उपत्यका भित्र र बाहिर चितवनको भरतपुर–मेघौली सडक, झापास्थित चारआली–भद्रपुर–केचना सडकखण्डलगाइतका छन्।

लामो समयसम्म सडक पिच नभएको भन्दै स्थानीयले पटक पटक आन्दोलन गरेपछि अहिले बौद्ध क्षेत्रमा सडक पिच गर्न सुरु गरिएको छ। तर त्यही चाबहिल–जोरपाटी सडक खण्डमा जहाँका स्थानीयले आन्दोलन गरेनन्, त्यताको सडक कालोपत्रे भएकै छैन। चाबहिल–जोरपाटी सडकखण्ड नबन्दा पानी पर्दा हिलो र पानी नपर्दा धूवाँ, धुलोको सास्ती वर्षौंदेखि खेप्दै आएका छन् त्यस क्षेत्र भएर आउजाउन गर्नेले।

बर्खायाम सुरु भएसँगै सडक हिलाम्मे भएर हिँड्डुल गर्न समस्या भएको स्थानीयको गुनासो छ। चाबहिलमा १८ वर्षदेखि पसल सञ्चालन गर्दै आएका प्रकाशकुमार खड्का भन्छन्, ‘यहाँका स्थानीय नै सक्रिय भएनन्। जबसम्म पीडित ढुगांमुढामा उत्रिदैनन्, तबसम्म सरकारले केही गर्दैन। स्थानीय नै सडकमा उत्रिएका छैनन्। तर पटक पटक निवेदन भने दिएका छौं।

निवेदन दिएर कुरा गर्दा अबको एक हप्तामा काम सुरु हुन्छ भन्छन् तर खोइ जति पटक धाए पनि सुनुवाइ हुँदैन। यतिका वर्ष भइसक्यो।’ सहकारी भएर मात्र अहिलेसम्म पसल सञ्चालन गर्न सकेको उनी बताउँछन्।

भन्छन्, ‘अहिलेसम्म यो सडकखण्डमा पसल सञ्चालन गर्ने सबै सहकारीका कारण बाँचिरहेका छन्। ग्राहक कोही आउँदैनन्। धूलो धुवाँ सामान पूरै बिग्रिन्छ। फोहोर त्यतिकै देखिन्छ, सामान पूरै पुरानो देखिन्छ। उनीहरु पसलै आउँदैनन्। व्यापारै हुँदैन्, आफै बिरामी भइन्छ। सहकारीले लोन दिन्छ र घरबेटीलाई भाडा बुझाइरहेका छौं।’ उनी मात्र हैन अर्का पसलका पुष्प पन्त पनि झोक्राएर बसिरहेका थिए। पसल खोलेदेखि बिक्री भएको छैन। सडक नबन्दा घाम लागेको बेला धुलो उडेर वारी र पारि पनि देखिँदैन। पानीपर्दा हिलाम्मे सडक भएर हिँड्न नसकिने अवस्था छ। उनी भन्छन्, ‘सिंहदरबार घरघरमा भन्छन् तर स्थानीय सरकार नहुँदा राम्रो थियो। अहिले जनप्रतिनिधिहरु कमिसनमा दौडिरहेका छन्। एउटाले गर्न दिने अर्कोले गर्न नदिने। स्थानीय तह नाममा मात्रै हो जनताको लागि होइन। अब यहाँ स्थानीय पनि निस्क्रिय नै छन् एक जुट हुँदैनन्। यो बाटो नबन्दा एकदमै कष्टकरको जीवन बिताउन बाध्य छौं।’

केही समयअघि बौद्धका स्थानीयले चक्का जाम नै गरे पछि वडा ६ मा पिच भइरहेको छ। वडा ६ का वडा अध्यक्ष दीपेन्द्र लामा भन्छन, ‘हाम्रो क्षेत्र जतिमा तीव्र रुपमा काम भइरहेको छ। पानीले गर्दा काम अलि ढिलो भइरहेको हो तर पिच गर्ने काम अन्तिम चरणमा पुगेको छ। अरु ठाउँको हामीलाई थाहा हुँदैन।’

यता ७ का वडाध्यक्ष शुद्ध डंगोल भने छलफल भइरहेको बताउँछन्। उनी भन्छन्,‘ मुआब्जा विवाद र कतिपय डिजाइन (ह्याम्प पाइप राख्ने आउट लेट नमिलेको) मा त्रुटि भएका कारण काम रोकिएको हो। हामीले पटक पटक छलफल गरिरहेका छौं। अब ठ्याक्कै कहिले सुरु हुन्छ भनेर भन्न सक्ने अवस्था छैन।’

पाँच खण्डमा विभाजन गरी १२.५ किमि चाबहिल–जोरपाटी–साँखु सडक निर्माण १३ असोज ०७२ मा सुरु भएको थियो। एक अर्ब ७३ करोड ५४ लाख रुपैयाँ कुल लागत रहेको योजनाको हालसम्म ४० प्रतिशत मात्रै काम सकिएको छ। ठेकेदार कम्पनीले सडक निर्माणका लागि दुईपटक म्याद थप गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्