काठमाडौं : चीनको पूर्वी क्षेत्रमा एक महिलाले गाडीमालिकसँग पैसा धुत्न नाटकीय तवरले गाडीमुनि लडेको भिडियो सार्वजनिक भएको छ। अघिल्लो बिहीबार भएको यो घटनामा ठग महिला वुहुको सडकमा गुडिरहेको लरीको पछिपछि साइकल लिएर दगुर्छिन्।
महिला देखेपछि लरी रोकिन्छ अनि उनी लरीनजिक आफ्नो साइकल मिल्काउँछिन् र वाहनमुनि घुस्रिँदै जान्छिन्। आफू दुर्घटनामा परेको जस्तो देखाउन उनी खोज्छिन्। तीनजना बटुवाले यो दृश्य हेरिरहेको देखिन्छ। महिलाले चलाखीका साथ आफूलाई गाडीमुनि राखेको देखिन्छ।
चीनमा नक्कली दुर्घटनाको पीडित भएको दाबी गर्दै पैसा धुत्ने काम हुने गरेको छ। ठगहरू अचानक गाडीका अगाडि पुग्ने गरेका छन्। अनि गाडी चलाउनेले ब्रेक लगाउँछन् र मानिससँग हल्का ठोकिन्छन्।
अनि ठगहरू आय्या आत्था गर्न थाल्छन् र चोटको क्षतिपूर्ति माग्न थाल्छन्। अहिलेको घटनामा प्रहरी घटनास्थलमा पुग्यो अनि दुर्घटना नभएको पुष्टि गर्यो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।