अस्पतालबाट फर्किएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओली



 

काठमाडौं :   प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेपछि लामो समय आराम गरेर पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्।

 

प्रधानमन्त्री ओली बुधबार दिउँसो महाकवी लक्ष्मीप्रसाद देवकोटा एक सय नवौं जन्मजयन्तीमा आयोजित हुन लागेको कार्यक्रममा सहभागी हुन लागेका हुन्। प्रधानमन्त्री ओली उपचारका लागि पाँच दिन अस्पताल बसेका थिए भने केही समय आरामका लागि सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिएनन्।

 

प्रधानमन्त्री ओली कात्तिक १२ गते सोमबार बिहान अस्पताल भर्ना भएका थिए भने शुक्रबार डिस्चार्ज भएका थिए। उनलाई खोकी लगायतका बिरामी भएर अस्पताल भर्ना भएका  थिए। ओली मदन भण्डारी कला साहित्य प्रतिष्ठानले लक्ष्मी जयन्तीका अवसरमा गर्न लागेको साहित्यिक कार्यक्रममा सहभागी हुन लागेका हुन्। कार्यक्रम प्रधानमन्त्री सरकारी निवास बालुवाटरमा हुन लागेको छ। प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गरेर नै उक्त कार्यक्रम बालुवाटारमा नै गर्न लागिएको आयोजकले जानकारी दिएका छन्।

 

प्रधानमन्त्री कात्तिक ६ गतेयता सार्वजनिक कार्यक्रममा उपस्थित भएका छैनन्। उनले कात्तिक ६ गते विद्युतीय बस उद्घाटन गरेका थिए। त्यसपछि बिरामी परेका उनलाई सुरूमा प्रधानमन्त्री निवासमै उपचार गरिएको थियो भने पछि अस्पताल नै भर्ना गरिएको थियो। प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो।

 

करिब एकदशक अघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यको विशेष हेरचाह गर्नु पर्ने हुन्छ। चिकित्सकहरूको सुझावअनुसार नै प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा उपस्थित नभएर आराम गरिरहेका छन्। 

 

प्रतिक्रिया दिनुहोस्