प्रदेश २ मा वर्षाको कहर : कस्तो छ आठ जिल्लाको पछिल्लो अवस्था ?



काठमाडौं : बुधबारदेखि लगातार परेको वर्षाले प्रदेश २ को राजधानी जलनकपुरलगायत आठ वटै जिल्ला जलमग्न भएको छ । बारा, पर्सा, रौतहट, सिरहा, महोत्तरी, सर्लाही, धनुषा र सप्तरी जिल्लाका अधिकांश क्षेत्र ढुबानमा परेको छ । त्यस क्षेत्रको जनजिवन प्रभावित भएको छ भने सवारी सञ्चालन र आवतजावतमा समस्या भएको छ । 

गत शनिबारदेखि मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहेको छ । मनसुन न्यूनचापिय रेखा नेपालको तराईको भूभागमा अवस्थित रहेको हुनाले मध्य र पूर्वी भूभागमा रहेको न्यूनचापिया क्षेत्रका कारण आगामी २–३ दिनसम्म मनसुन अति सक्रिय रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रदेश २ को पछिल्लो अवस्था 

जनकपुर : वर्षाका कारण जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ । दुई दिनदेखि निरन्तर शुक्रबार बिहानसम्म वर्षा हुँदा जनकपुरको २५ वडा जलमग्न भएको छ भने धनुषाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको छ । 

एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नगरेका कारण पानीको निकास हुन नसकेको कारण नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन् ।

वर्षाले जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय, जनकपुर अञ्चल अस्पताल, जनकपुरको प्रमुख चौक रामानन्द द्वार (चौक), मुख्यमन्त्री कार्यालय, धनुषाको जिल्ला प्रशासन कार्यालय जलमग्न भएको छ । साथै जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमी मैदान, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर समेत जलाशयमा परिणात भएको छ । 

रौतहट : दुई दिनदेखि निरन्तर परेको पानीले रौतहटको चन्द्रपुरस्थित लच्कामा बाढी आएको छ । बाढी कारण पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहले जनाएको छ । 

अविरल वर्षापछि आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ भने दुवै तर्फको सवारीबीच बाटोमै रोकिएका छन् । शुक्रबार बिहानै देखि वर्षा भइरहेका  कारण सडक सञ्चालनमा ल्याउने समस्या भएको प्रहरीले जनाएको छ । तर, पनि सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

यसैबीच लाल बकैया नदीले रौतहटको बन्जरहाको बाधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् ।

सिरहा : वर्षाका कारण सदरमुकाम सिरहा जलमग्न भएको छ । सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएको हो ।अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानियवासीले बताएका छन् ।

पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् । पानीको सतह बढेपछि सिरहाको गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेका कारण सवारी सञ्चालनमा समस्या भएको छ ।

लाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ । कार्यालय परिसरमा करिब ३–४ फिटसम्म पानी जमेका राण कार्यालयसम्म पुग्न समस्या भइरहेको छ । 

पर्सा : चार दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण पर्साको सदरमुकाम वीरगन्जका साथै ग्रामीण भेगका गाँउहरु डुबानमा परेको छ । निरन्तर परिरहेको वर्षाका कारण वीरगन्ज महानगरको रानीघाट, श्रीपुर, रामगढवा, आदर्शनगरलगायतका क्षेत्रका जलमग्न हुनुका साथै केही घरहरुमा पानी पसेको छ । 

यस्तै अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदि र खोलाहरूमा पानीको सतह बढेर गाउँ डुबानमा परेका छन् । नदि र खोलाको बाढिले केही स्थानमा खेतीयोग्य जमीन समेत कटान गरेका छन् । जानकीटोलमा रहेको ओरिया नदीको पानीको सतह बढेर बाढि पस्दा दसौता गाउँ डुबानमा परेको छ । यसैगरी पर्साकै भिस्वा, मुडली, लङ्गडी, धोबिनी, आशवारी, गुलरिया, जयमङ्गलापुर, सबैठवा, धोरे, हस्वा, मसिहानी, प्रसौनीभाटा, अमरपट्टि, गर्दौललगायतका अधिकांश गाउँ पनि डुबानमा परेका छन् ।

यसैगरी बारा महोत्तरी, सप्तरी र सर्लाहीका अधिकांश जिल्लाहरु पनि ढुबानमा परेका छन् । त्यहाका सरकारी कार्यालयलगायत सडकमा पानी जमेका कारण आवतजावतमा समस्या परेको छ । साथै सर्लाहीको बस्तिमा पानी पस्दा घर डुबानमा परेको छ । माटो र खरद्वारा बनाइएको घरहरु भत्किएको छ भने त्यहाँको जनविजन अति प्रभावित भएको छ ।

सर्लाहीको बरहथवा नगरपालिका १५ स्थित गाउँ नै डुबानमा परेको छ । गाउँमा जमेको पानीको निकास नहुँदा स्थानीय १ सय ५० परिवारलाई नजिकैको विद्यालयमा सुरक्षित तरिकाले राखिएको छ ।

यसैगरी महाशाखाले आगामी २४ घण्टा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । 

देशको पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारी वर्षा समेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएको उच्च सतर्कता अपनाउ आग्रह गरेको छ । साथै देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले सतर्क रहन अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्