वर्षाले सिद्धिचरण राजमार्ग २ दिनदेखि अवरुद्ध, यात्रुको बिचल्ली



ओखलढुंगा : लगातारको वर्षाका कारण सिद्धिचरण राजमार्ग २ दिनदेखि अवरुद्ध छ। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने भँडारे खोलामा आएको बाढीका कारण शुक्रबारदेखि सिद्धिचरण राजमार्गमा सवारी आवागमन ठप्प भएको हो। 

सगरमाथा क्षेत्रको प्रवेशद्वारमा पर्ने भँडारेको भलका कारण सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु भएर राजधानी र तराईका जिल्ला जानेरआउने यात्रु अलपत्र परेका छन्। ठाडो खोलामा आएको बाढीले सडक अवरुद्ध पारेपछि सयौँ सवारीमा सवार हजारौँ यात्रु अलपत्र परेको सवारी चालक प्रशान्त केसीले बताए। 

‘हिजोदेखि बाटैमा बस्नुपरेको छ। होटल पनि भरिभराउ छन्। यात्रुलाई कहाँ के खुवाउने कहाँ राख्ने भन्ने समस्या भइसक्यो’, चालक केसीले भने, ‘उहाँका अनुसार खोलामा लेदोसहितको भल बढेको छ।’ 

भँडारेमा सडक अवरुद्ध भएपछि मितेरी भञ्ज्याङ र टोक्सेलसम्म दुईतर्फ सयौँ सवारी रोकिएका छन्। त्यस्तै उदयपुर र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोलाको बाढीका कारण काठमाडौंका लागि छुटेका सवारी घुर्मी र टोक्सेलमै रोकिएका छन्। सवारी र यात्रुको चापका कारण त्यस क्षेत्रका होटलहरुमा खाना खाजासमेत नपाउने अवस्था आएको स्थानीयवासी बालेन्द्र अधिकारीले बताए। 

थोरै खर्च बोकेर यात्रामा निस्किएका यात्रु अभावमा गुज्रिएका छन्। ‘बेलुका घर पुगिएला भनेर पैसा धेरै नबोकी हिँड्यो’, यात्रु सुस्मिता राईले भने, ‘अब त चाउचाउ खाने पैसा पनि सकियो। साह्रै बिजोग भो यात्रा।’ सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुबाट राजधानीका लागि छुट्ने सवारी शुक्रबार कम मात्रै छुटेका छन्। 

जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लको नेतृत्वमा सरोकारवालाहरुको टोली सडक सञ्चालन गराउन त्यसतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निरन्तरको वर्षाका कारण ओखलढुङ्गाका अन्य कच्ची सडकसमेत अवरुद्ध भएका छन्।

प्रतिक्रिया दिनुहोस्