कानूनी व्यवसायी श्रेष्ठको निधन



 

काठमाडौँ :   वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८३ वर्षको उमेरमा आज निधन भएको छ ।

 

श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका श्रेष्ठको आज बिहान ५ः३५ बजे निधन भएको नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिए । 

 

तनहुँ बन्दीपुरमा जन्मिएका श्रेष्ठले भारतको कोलकत्ताबाट कानूनी शिक्षा हासिल गरेका थिए । सर्वोच्च अदालत बारको पहिलो अध्यक्षसमेत रहनुभएका श्रेष्ठ नेपाल बार एशोसिएशन र नेपाल कानून समाजको पनि अध्यक्ष हुनुभयो । 

 

 

कानूनसम्बन्धी धेरै कृति र लेख प्रकाशन गर्नुभएका श्रेष्ठले पञ्चायत कालमा प्रजातन्त्रको पक्षमा उभिनुभएका बिपी कोइरालालगायत नेताको पक्षमा कानूनी बहस पैरवी गरेका थिए । नेपालको कानूनी शिक्षा, संवैधानिक विकासका अतिरिक्त अनुशासित र मर्यादित कानून व्यवसायीका रुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले बताए । 

 

 

स्व.श्रेष्ठका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । उनको पार्थिव शरीर भोली श्रद्धाञ्जलिका लागि दिउँसो १ देखि ४ बजेसम्म नेपाल बारमा राखिने छ भने साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

 

रासस

प्रतिक्रिया दिनुहोस्