अमेरिकी मध्यावधि निर्वाचन : ट्रम्पलाई धक्का



 

वासिंटन :  अमेरिकाको डेमोक्रेटिक पार्टीले आठ वर्षपछि पहिलो पटक संसद्को तल्लो सदनमा बहुमत ल्याएको छ ।

 

मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनल्ड ट्रम्पको पार्टी रिपब्लिकनलाई पछाडि धकेल्दै डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएको हो । योसँगै राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का लागेको छ । राष्ट्रपति ट्रम्पलाई प्रतिनिधिसभाबाट आफ्ना एजेन्डा पारित गर्न निकै ठूलो चुनौती सामना गर्नुपर्ने छ । तर ट्रम्पको पार्टी रिपब्लिकनले सिनेटमा भने बहुमत कायमै राखेको छ ।

 

सिनेटका १०० सिटमध्ये ५० प्रतिशत सिटमा रिपब्लिकनले जित हासिल गरेको छ । डेमोक्रेटिक पार्टीले ३८ सिट जितेको छ । मंगलबार भएको मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको दुई वर्षे कार्यकालको परीक्षणका रुपमा लिइएको थियो ।

 

अमेरिकी मतदाताले मध्यावधि निर्वाचनमा अमेरिकी संसदको ४३५ सिट, माथिल्लो सदन (सिनेट) को १०० सिट र ३६ राज्यको गभर्नर पदका लागि मतदान गरेका छन् । यो निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिप्रतिको जनमतसंग्रहको रुपमा हेरिएको छ । 

 

एजेन्सी

प्रतिक्रिया दिनुहोस्