अब भाटभटेनी सुपरमार्केटले दूधजन्य खाद्यवस्तु बिक्री गर्न पाउनेछैन



काठमाडौं : सरकारले भाटभटेनी सुपरमार्केटलाई दूधजन्य खाद्यवस्तु विक्री वितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगञ्जमा रहेको भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दूधजन्य खाद्यवस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको हो ।

 

भाटभटेनी सुपर मार्केटबाट बिक्री हुने दूधजन्य खाद्यवस्तु गुणस्तरहीन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए । 

 

तिहारमा अत्याधिक बिक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीव्रता दिँदै आएको विभागले बुधबार अत्याधिक बिक्री वितरण हुने महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरको खाद्यजस्तुको पनि परीक्षण गरेको हो । परीक्षणमा दूधजन्य वस्तु गुणस्तरहीन पाइएको थियो ।

 

यसैगरी विभागले बुधबार तीन वटा मिठाई पसलमा पनि अनुगमन गरेको छ । महाराजगञ्जस्थित टिपटप मिठाई पसल र गौशालास्थित अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो ।

 

अनुगमनका क्रममा तीन वटै मिठाई पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ । रङको प्रयोग सन्तोषजनक रहेको पाइए पनि खाद्यवस्तुमा तेलको गुणस्तरमा सुधार ल्याउन पनि मिठाई पसलहरुलाई सचेत गराइएको पनि विभागका महानिर्देशक कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस्