सिन्धुलीमा बाढी पहिरोमा हराएका ३ जनाको शव भेटियो



सिन्धुली : सिन्धुलीमा बाढी र पहिरोले बगाउँदा बेपत्ता भएका ३ जनाको शव भेटिएको छ। ४ जना अझैं बेपत्ता छन्। शनिबार पहिरोले घरसहित बगाउँदा बेपत्ता भएका दुधौली नगरपालिका १२ स्थित जिनाखु बुढीटारीका हिराबहादुर पौडेलकी श्रीमती र छोरीको शव आइतबार भेटिएको प्रहरीले जनाएको छ।

उनीहरूको शव दुधौली नगरपालिका ११ र १२ को सिमाना सिसेन र ठाकुरखोलाको दोभानमा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले बताए। श्रीमती र छोरीसँगै शनिबार बेपत्ता पौडेलका छोरा सागर पौडेल भने अझै बेपत्ता छन्।

उता आइतबार सिन्धुलीकै सुनकोशी गाउँपालिका र काभ्रेको रोसी गाउँपालिकाको सिमानामा अन्दाजी २५/३० वर्षका एक पुरुषको शव भेटिएको छ। उनको पहिचान हुन नसकेको जनाइएको छ।

यसैबीच शुक्रबार राति कमला नदीले घरसहित बगाउँदा बेपत्ता दुधौली नगरपालिका ४ बस्ने रेणु कापरी, उनका वर्ष ७ को छोरा आधिं कापरी, वर्ष १ को छोरा सार्गन कापरी र उनको आमाजु वर्ष ६० की मरणी कापरी अझै फेला पर्न सकेका छैनन्। उनीहरूको खोजतलास गरिरहेको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्