गठबन्धन मुलुकको वर्तमान आवश्यकता हो : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको उल्लेख गरेका छन् ।

सामाखुसी यातायात प्रालिले सोमबार आयोजना गरेको ‘नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन एवम् प्रजातान्त्रिक यातायात व्यवसायीलाई सम्मान’ कार्यक्रममा उनले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन् । “वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ, कार्यकर्ताको मन उच्च हुनेगरी गठबन्धन हुन्छ”, उनले भने । निर्वाचन केन्द्रित भएर लाग्न नेता सिंहले सबैलाई आग्रहसमेत गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकको अर्थतन्त्रमा यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यातायात व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताए । उनले प्रजातान्त्रिक यातायात व्यवसायीले पार्टीको शुभेच्छुक संस्थाका रुपमा राखेको माग सम्बोधन गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

कांग्रेस काठमाडौंका सभापति कृष्णसबुज बानियाँले आगामी हुन लागेको स्थानीय तहको निर्वाचनमा सङ्गठनको भावनालाई केन्द्रमा राखेर गठबन्धन गरिने बताए । उनले राजनीतिक मुद्दा सम्पन्न भएको भन्दै अब विकास केन्द्रित अभियानमा लाग्नुपर्ने उल्लेख गरे ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि सुशील भट्टले कांग्रेसले स्थानीय तहको निर्वाचनमा जनाधार हेरेर उम्मेदवार खडा गर्नुपर्ने बताए । उनले नेताभन्दा नीतिमुखी व्यक्तिलाई उम्मेदवारका रुपमा पार्टीले अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्