१७५ प्रहरी बर्खास्त, ७० को बर्खास्ती तयारी



काठमाडौंः पटना एसएसपी मनु महाराजका अनुसार १ सय ७५ जना प्रहरीलाई बर्खास्त गरिएको छ । उनीहरुका विरुद्ध बुद्धा कोलनी चौकीमा निवेदन समेत दर्ता गरिएको छ । उनीहरुलाई तुरुन्तै गिरफ्तारीका लागि वारेन्ट जारी गर्ने काम भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

 

गएको हप्ता पटनामा प्रहरी लाइनमा लागेकै बेला उपद्रो र उत्पात मच्चाएको आरोपमा भारतीय प्रहरी मुख्यालयले १ सय ७५ जना प्रहरी प्रशिक्षार्थीलाई बर्खास्त गरेको छ । प्रहरी मुख्यालयले उपद्रो मच्चाउने अन्य ७० जना प्रहरीको समेत पहिचान भएको र उनीहरुलाई समेत बर्खास्तीको तयारी रहेको जनाएको छ ।

 

प्रहरी मुख्यालयका अनुसार प्रहरी लाइन र बाहिर लगाइएको सीसीटिभी क्यामेरामा उनीहरुले गरेको हर्कतको भिडियो क्याप्चर भएको थियो । पटनाका एसएसपी मनु महाराजले बताए अनुसार बर्खास्त गरिएका १ सय ७५ जना प्रहरी विरुद्ध बुद्धा कोलनी चौकीमा मुद्धा दायर गराइएको छ । र, सबैलाई गिरफ्तार गर्न आदेश भइरहेको उनले बताए ।

 

गएको हप्ता प्रहरी लाइनमा ड्यूटीको समयमा सविता पाठक नाम गरेकी प्रशिक्षक महिला पुलिसकर्मी बिरामी भएकी थिइन् । तुरुन्तै अस्पताल लगेर उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृतक महिला प्रहरीका साथीहरुले उनको छुट्टी माथिल्लो तहका अधिकारीले अस्विकृत गर्दा मृत्यु भएको आरोप लगाएका छन् । उनी लामो समयदेखि बिरामी रहेको उनीहरुको भनाइ छ । सविताको मृत्यु भएपछि आक्रोशमा आएका ती जवानहरुले महिला प्रहरी बस्ने भवनको तोडफोड गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्