मतपत्र छपाइको अवधि एक साता लम्बिने



काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले ५ वैशाख सोमबारसम्म ९५ लाख २५ हजार मतपत्र छपाइ सम्पन्न गरेको आयोगले जनाएको छ ।
२१ चैतदेखि मतपत्र छपाइको कार्य भइरहेको छ । आयोगले १ करोड ९४ लाख मतपत्र छाप्ने योजना बनाएको छ । आयोगले १५ वैशाखसम्ममा मतपत्र छपाइ कार्य सम्पन्न गर्ने गर्ने लक्ष्य राखेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
छपाइ सुरु भएदेखि १४ दिनसम्म आइपुग्दा ५० प्रतिशत मात्र मतपत्र छापेको छ भने आयोगले लक्ष्य लिएको मिति आइपुग्न १० दिन मात्र बाँकी छ । केन्द्रले दैनिक ६ लाख ८० थानको हाराहारीमा मतपत्र छापिरहेको छ । यही गतिमा मतपत्र छापिने हो भने मतपत्र छपाइ २१ वैशाखसम्म अर्थात् एक साता लम्बिने देखिन्छ ।
तर, आयोगले भने दैनिक ८ लाखभन्दा बढी थान मतपत्र छपाइ भइरहेको दाबी गरेको छ । ‘दैनिक ८ लाखभन्दा बढी थान मतपत्र छपाइको कार्य भइरहेको छ । दिन, रात र बिदाको दिन पनि नभनी कामदार खटिरहेको अवस्था छ । यदि आवश्यकता परे त्यसभन्दा बढाउन सकिनेछ’, आयोगका सहप्रवक्ता अर्यालले बताए ।
तोकिएको मितिमै मतपत्र छपाइको कार्य सम्पन्न गर्ने उनको भनाइ छ । ‘अहिले ५० प्रतिशत मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको अवस्था छ । तोकिएकै अवधिमा मतपत्र छपाइको कार्य सम्पन्न हुनेछ’, उनले भने ।
हालसम्म ४६ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ । निर्वाचनका लागि ११ र १२ वैशाखमा उम्मेदवार दर्ताको मिति तोकिएको छ । आयोगले अझै छापिएको मतपत्र जिल्लामा ढुवानी गरेको छैन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना नभइसकेकाले मतपत्र ढुवानी नभएको आयोगको भनाइ छ । ८ वैशाखमा कार्यालय स्थापना हुने र ९ वैशाखपछि मात्र मतपत्र जिल्लाका लागि ढुवानी हुने आयोगका सहप्रवक्ता अर्यालले बताए ।
अहिले उच्च हिमाली तथा पहाडी जिल्लाहरूमा मतपत्र छपाइको कार्य सम्पन्न गर्दै विस्तारै सुगम जिल्लाको छाप्न खोजेको उनको भनाइ छ । मतपत्रलगायत निर्वाचनसँग सम्बन्धित अन्य सामग्रीसमेत आयोगले जिल्ला पठाइसकेको छैन ।
स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका छन् । कुल मतदाताको सङ्ख्याको १० प्रतिशत बढी मतपत्र छापिन लागेको हो । विगतका निर्वाचनमा मतदाताको १५ प्रतिशतसम्म बढी मतपत्र छापिँदै आएको थियो ।
निर्वाचनमा २३ प्रकारका मतपत्र हुने आयोगले जनाएको छ । सबैभन्दा ठूलो मतपत्र काठमाडौंको हुने आयोगले जनाएको छ । काठमाडौंमा राष्ट्रिय मान्यता पाएकासहित ४६ र बढीमा १० जना स्वतन्त्र उम्मेदवार हुने अनुमानका आधारमा ५६ लहरको मतपत्र हुनेछ । त्यस्तै, मनाङ र मुस्ताङमा सबैभन्दा सानो मतपत्र हुने जनाइएको छ । ती जिल्लामा निर्वाचनमा सहभागी हुने दल ५ वटा मात्र छन् ।

प्रतिक्रिया दिनुहोस्