बाबुको मृत्यु, आमाले दोस्रो बिहे गरेपछि ३ बालबालिकाको बिचल्ली



जाजरकोट : बाबुको मृत्यु र आमाले दोस्रो विवाह गरेपछि जाजरकोटको बारेकोटमा तीन बालबालिका बिचल्लीमा परेका छन्। बारेकोट गाउँपालिका–५ कालाखोलीका १४ वर्षीय हीरा नेपाली, १२ वर्षीया मीना नेपाली र १० वर्षीय प्रविन नेपाली बिचल्लीमा परेका हुन्।

उनीहरूलाई शिक्षादीक्षामा मात्र होइन, गाँसबासकै समस्या भएको छ। पाँच वर्षअघि बाबु कलिमान नेपालीको मृत्यु भएको र आमा सरस्वतीले विवाह गरेर अन्यत्रै गएपछि उनीहरू सहारा विहीन बनेका छन्।

उनीहरू गाउँ नजिकैको सरस्वती माध्यमिक विद्यालय सिलङ्गीचौरमा ८, ७ र ६ कक्षामा पढ्छन्। ‘पढ्न मन भएर के गर्ने ? कापी कलम किन्ने पैसा छैन, खाने अन्न, लगाउने कपडासमेत छैन, साना भाइबहिनी कसरी हुर्काउने समस्या छ’, हीराले भने।

घरको अन्नबालीले तीन महिना पनि खान पुग्दैन, गाउँघरमा ज्याला मजदुरी गरेर थोरै पैसा कमाउने र त्यसैबाट भाइबहिनीको कापी कलम तथा घर व्यवहार धान्ने गरेको हीरा बताउँछन्।

उनीहरूको सहयोगका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिसँग अनुरोध गरे पनि कतैबाट सहयोग नमिलेको काका रतन नेपालीले बताए। ‘दाजुको मृत्यु भयो, भाउजू पोइल गइन् के गर्ने साना छन् मैलै नै सहयोग गर्दै आएको छु’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्