अपहरणमा परेका ७९ जना विद्यार्थी रिहा



 

क्यामरुन :   क्यामरुनमा हतियारधारीद्वारा अपहरित ७९ जना विद्यार्थीलाई नियन्त्रणमुक्त गरिएको छ । गएको सोमबार अपहरणमा परेका उनीहरुलाई सकुशल नियन्त्रणमुक्त गरिएको क्यामरुनका सञ्चारमन्त्रीले बुधबार एएफपीसँगको कुराकानीमा जानकारी दिएका छन् । 

 

अपहरणमुक्त भएकाहरुको बारेमा विस्तृत विवरण भने अहिले दिइएको छैन । फ्रान्सेलीभाषीको बाहुल्यता रहेको देशको अंग्रेजीभाषीको बाहुल्यता रहेको ठाउँबाट उनीहरुलाई अपहरण गरिएको हो । त्यस क्षेत्रलाई क्यामरूनबाट छुट्ट्याउन सङ्घर्ष गर्दै आएको समूहले विद्यार्थीलाई अपहरण गरेको सरकारी अधिकारीले जनाएका छन् । 

 

विद्यालय सञ्चालन भइरहेको समय विद्रोहीको एक सशस्त्र समूह पे्रस्बिटरियन माध्यमिक विद्यालय, वामेडामा प्रवेश गरी विद्यालयका प्रिन्सिपल, एक शिक्षक र बस चालकलाई समेत विद्यार्थीसँगै लगेको थियो । त्यो क्षेत्र क्यामरूनको उत्तरपश्चिममा पर्छ । क्यामरूनमा यो अपहरणको घटना अहिलेसम्मकै ठूलो भएको बताइएको छ । 

 

क्यामरूनमा ३५ वर्षदेखि राजनीतिक नेतृत्वमा रहेका ८५ वर्षीय राष्ट्रपति पाउल बियाले गएको अक्टोबरमा भएको चुनावबाट सातौँ कार्यकालका लागि चुनिएको केही समयमा नै यो घटना भएको हो । यद्यपि निर्वाचन परिणाप्रति विपक्षीले धाँधली भएको बताउँदै असन्तुष्टि जनाउँदै आएका छन् । 

 

चुनावमा बियाले ७१।३ प्रतिशत मत प्राप्त गरी जितेको दावी गरे पनि चुनावमा सरकारी अधिकारीले नै हुलदङ्गा मच्चाएर निम्न सङ्ख्यामा सहभागिता भएको विपक्षीको आरोप राष्ट्रपतिमाथि छ । क्यामरूनमा दुई करोड २० लाख अंग्रेजीभाषी नागरिक छन् र अल्पसङ्ख्यक उनीहरू आफ्नो भू–भागलाई स्वतन्त्र गरिनुपर्ने बताउँदै आएका छन् । विश्वयुद्धपूर्व क्यामरून जर्मनीको कोलोनीका रूपमा रहेकोमा विश्वयुद्धपछि बेलायत र जर्मनीको अधिनमा गएको थियो । 

 

सन् २०१६ मा स्वतन्त्रताका लागि आवाज उठाए पनि अंग्रेजीभाषीलाई बियाले राज्यशक्तिको बलमा दबाएका थिए । सन् २०१७ को अक्टोबर १ मा एङ्लोफोन समुदायले देशको उत्तरपश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रलाई अम्बाजोनिया गणतन्त्रका रूपमा घोषणा गरेका थिए तर यसलाई कुनै पनि राष्ट्रले मान्यता दिएको छैन । 

 

क्यामरूनमा भएका हिंसात्मक आन्दोलनमा परि ४०० नागरिकको मृत्यु भएको छ भने १७५ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।

 

रासस

प्रतिक्रिया दिनुहोस्