डेढ घण्टाको बाटो अब २ मिनेटमा



म्याग्दी : झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दी र बागलुङवासीलाई आवतजावतमा सहज भएको छ। म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दाले डेढ घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमा नै पुग्न सक्ने भएका छन्।

बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध (सिमाना) मा बग्ने ठूलो खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय ललितपुरको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत सो पुल निर्माण गरिएको हो। १ करोड ३९ लाखको लागतमा निर्माण भएको सो पुलको लम्बाइ २६० मिटर र उचाइ ८५ मिटर रहेको छ।

पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले गत माघ महीनादेखि निर्माण सुरु गरेको सो पुल निर्धारित मितिभन्दा ९ महीनाअघि नै सम्पन्न भएको जानकारी दिए। पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पञ्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डेलगायत गाउँका हजारौँ मानिसलाई आवतजावत गर्न सहज भएको स्थानीयवासी अशोक घिमिरेले बताए।

बागलुङको पञ्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत जग्गा बागलुङमा पर्ने भएकाले खेती गर्नका लागि डेढ, दुई घण्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ। ठूलो खोलामा पुल नहुँदा निकै सास्ती खेप्नुपर्ने बाध्यतामा रहेका दुवै जिल्लाका बासिन्दा पुल बनेपछि हर्षित भएका छन्।

पुल निर्माणपछि कृषकलाई मात्रै होइन, विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ। दुई घण्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउने चनौटेका विद्यार्थीहरु अब घरबाट निस्केको १५ मिनेटमा विद्यालय र विद्यालय छुटेको १५ मिनेटमा घर पुग्न पाएका छन्। त्यसैगरी शिक्षक र कर्मचारीलाई पनि निकै सुविधा पुगेको स्थानीय भीम पौडेलले जानकारी दिए।

गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भई हाल फापरखेतमा बस्दै आएका प्रवेश कुँवरले बताए। पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउनका लागि दैनिक २० भन्दाबढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीयवासी शिव घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्