कलाकारलाई निर्वाचनको चटारो



काठमाडौं । फिल्ममा अभिनय र प्रोडक्सनको काममा व्यस्त रहने मनोज केसीको जिम्मेवारी केही दिनयता फेरिएको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन नजिकिएपछि मनोजको व्यस्तता अन्य समयभन्दा केही बढेको हो।

मनोज नेपाली कांग्रेसको शुभेच्छुक सङ्गठन नेपाल सांस्कृतिक संघका महामन्त्रीसमेत हुन्। नेपाली कांग्रेस ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान लिएर स्थानीय निर्वाचनमा जुटिरहँदा नेपाल सांस्कृतिक संघ यस अभियानलाई सफल बनाउन कम्मर कसेर लागेको छ। मनोजका अनुसार संघमार्फत गीत, सङ्गीत बनाउने काम पूरा भइसकेको छ। ‘गीत रेकर्डको काम सकिएको छ। अब भिडियोको काम चाँडै सुरु गर्दै छौँ। यससँगै सर्ट फिल्महरू, कांग्रेसलाई जिताउनका लागि कविता, गीत, म्युजिक भिडियो बनाउने काम यसै सातादेखि सुरु हुँदै छ’, मनोजले भने, ‘हामीले निर्वाचनमा घरघर जाऔँ, नेपाली कांग्रेस जिताऔँ भन्ने मुख्य विचारलाई अगाडि बढाएका छौँ।

यो साता हाम्रालागि विशेष हुनेछ किनकि गाउँमा चुनावी प्रचारप्रसारका सामग्री पठाउनका लागि हामी द्रुत गतिमा तयारी गरिरहेका छौँ।’ मनोजका अनुसार यस पटक चुनावी गीतमा कृष्ण राई र शशी थापाले सङ्गीत भरेका छन् । गीतमा राधिका हमाल, शशी थापा, आतिफ आलमलगायतको स्वर छ। स्रष्टाले गीतकार तथा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतका शब्दलाई लयमा उतारेका छन् ।

त्यस्तै कांग्रेसकै लागि बनाइएको गीत ‘छ्याप्पै रूखमा छाप लाउनी’मा विमलराज क्षेत्री र प्रीति आलेको स्वर, नवराज पन्तको शब्द र खेम पुनको सङ्गीत, कृष्ण काफ्ले, रीता केसी र गायत्री थापाको स्वर तथा गायत्रीकै शब्द र राजकुमार बगरको सङ्गीतमा ‘चार तारे झण्डा’ गीत सार्वजनिक भइसकेको छ। नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष दिनेश डीसी पार्टीप्रति जनताको झुकाव बढाउनका लागि सांस्कृतिक विधाबाट आफूहरूले प्रचारप्रसारको अभियानलाई तीब्र बनाइरहेको बताउँछन् ।

‘गीतहरू धमाधम बनिरहेका छन्। भिडियो बन्ने सङ्ख्या पनि उस्तै छ । हामी समूह विभाजन गरेर काम गरिरहेका छौँ । त्यस कारण कुन विभागको गीतमा को सङ्गीतकार, को गीतकार अथवा गायक, गायिका छन् भन्ने यकिन भएको छैन । केन्द्र, प्रदेश र स्थानीयले अलगअलग किसिमका गीत बनाएका छौँ । त्यस कारण कति गीत बने भन्ने निक्र्योल छैन’, दिनेशले भने । निर्वाचनकै लागि नेकपा एमाले निकट युवा संघ र साइबर सर्कलले निर्वाचन टिकटक प्रतियोगिताको घोषणा गरिसकेको छ । सर्कलले नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडियो प्रतियोगिताको घोषणा गरेको हो। प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ५० हजार र तृतीयले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

आयोजकले भिडियो व्यक्तिगत रूपमा बनाउनुपर्ने, एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने र त्यसको समयावधि २ मिनेटको हुनुपर्ने जनाएको छ। निर्वाचन लक्षित गीत, सङ्गीत निर्माणमा एमाले अग्रपङ्क्तिमा देखिएको छ। ललितपुर– १ का सांसद नवराज सिलवालको नेतृत्वमा चुनावी गीत तयार भएर बजारमा आइसकेको छ । ‘सूर्यमा स्वस्तिक छाप’ बोलको गीतमा राजेन्द्र भण्डारी र शारदा रसाइलीको स्वर, नवराज सन्जेल आरेजको शब्द तथा विष्णु तामाङको एरेञ्ज र सङ्गीत छ । यस गीतमा ललितपुरका ८ जना नवराज नाम गरेको समूह आबद्ध छ, जसमा नवराज सिलवालसहित नवराज सञ्जेल, नवराज महत, नवराज तिमल्सिना, नवराज घिमिरे (यातायात क्षेत्र) र नवराज घिमिरे (साउथ ललितपुर हार्डवेयर/नवनिर्माण हार्डवेयर) आबद्ध छन् ।

त्यस्तै, कोमल वली, गोविन्द मधुर आचार्य, रमिला विश्वकर्मा र नवराज वलीको स्वर तथा नवराज ओलीको शब्द र सङ्गीतमा ‘सूर्यमा भोट हालौँ’, बद्री पँगेनी, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा, राजु गुरुङ, गंगा पुन, पूर्णकला बीसी, सुनिता बुढा क्षेत्री, भीमु गुरुङ, लक्ष्मी खड्का, माया पर्दे, सुजन लम्साल, डोलराज बाह्रघरे मगर, प्रसाद लामिछानेको स्वर तथा सुजन लम्सालको शब्द र सङ्गीतमा ‘मेरो देशै एमाले, म त यसै एमाले’लगायतका गीत युट्युबमा आइसकेका छन् । एमाले नेताका अनुसार अधिकांश जिल्लाले आ–आफ्नै चुनावी गीत तयार पारेर प्रचार अभियान थालेका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट सांस्कृतिक विभागका भ्रातृ सङ्गठनको तयारी पनि कम छैन । पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका उपाध्यक्ष तथा गीतकार, गायक र सङ्गीतकार चेतन सापकोटा जनतालाई सुसूचित गराउनका लागि गीतहरू तयार भइरहेका बताउँछन् । ‘हिजो युद्धताका अलग्गै सरकार स्थापना गरेर गरिब, महिला, मधेसीका अधिकारलाई स्थापित गर्न गाउँगाउँमा काम गरिरहेका थियौँ । उनीहरूको घरको चुह्लोमा पानी नहुँदा पार्टीले सहयोग गरेको थियो । तर, अहिले जनतासँग पार्टीको दूरी बढ्यो । अहिले पनि जनताले माओवादीलाई कुरिरहेका छन्’, चेतन भन्छन् ।

त्यो कुरालाई सम्झना गराउँदै माओवादीप्रति जनताको भावनालाई जागरुक बनाउन उनकै शब्द, सङ्गीत र स्वरमा एउटा गीत तयार पारिएको चेतन बताउँछन् । गीतमा सुवास गजुरेल, श्यामल अधिकारी, कृष्ण ढुंगानालगायतका कलाकारहरूले अभिनय गरेका छन् । उनले आफूहरूको गीतमा जनकलाकारको सहभागिता भएकाले गीत राम्रो बनेको दाबी गरे। ‘हामीले २० मिनेटको सर्ट फिल्म बनाएर पनि प्रचारको काम गरिरहेका छौँ । हाम्रो प्रचार अभियान प्रभावकारी हुनेमा हामी ढुक्क छौँ’, चेतनले भने ।

माओवादीले निर्वाचनकै लागि ‘आयो आयो माओवादी हेर’ बोलको गीत तयार पारेको छ, जसमा चेतन गोतामे र टीका पुनको स्वर, राम खत्री र दिलीप कँडेलको शब्द तथा दिलीप कँडेलको सङ्गीत छ । यसैगरी सागर परियार र निर्मला घिसिङको स्वरमा ‘गोलाकारभित्रको हँसिया–हथौडामा गरौँ है मतदान’ गीत सार्वजनिक भइसकेको छ । गीतमा उजरसिंह तामाङ र सागर परियारको शब्द तथा सागर परियारको सङ्गीत छ।

प्रतिक्रिया दिनुहोस्